पढाइमा ८० लाख खर्चेका बेरोजगार पाइलट : किन खोल्न चाहँदैनन् वास्तविकता ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नुनुता राई , काठमाडौं   |   साउन २७, २०७४

पाइलट भएर जहाजको ककपिटमा बस्दासम्म पुगनपुग एक करोड खर्च हुन्छ । पढ्नकै लागि मात्र देशअनुसार ४५ देखि ६० लाखसम्म खर्च लाग्छ । त्यसपछि टाइपरेटिङ (कुन पदका लागि हायर गरेको हो सोअनुसार विदेशमा गरिने तालिम) गर्न करिब २५ लाख र लाइसेन्स लिनका लागि १० लाखसम्म खर्च लाग्छ ।

धेरै बाबुआमाको सपना हुन्छ– छोराछोरीलाई डाक्टर, पाइलट वा इन्जिनियर बनाउने । बाहिरबाट हेर्दा यी पेसालाई सम्मान र आम्दानीका दृष्टिले अग्रस्थानमा राखिन्छ । तर, यसको भित्री पाटोको विषयमा धेरै अनविज्ञ छन् । धेरैको इच्छा र सपना भएको पाइलट बन्न झन् धेरै गाह्रो छ । झन्डै करोड खर्च गरेर विदेशमा अध्ययन पूरा गरेपछि उनीहरूलाई लाइसेन्सको टेन्सन हुन्छ । लाइसेन्स बनाउन फेरि लाखौँ खर्च गर्नुपर्ने हुन्छ । त्यसपछि पनि रोजगारी सजिलै पाइँदैन । देशभित्र अहिले करिब अढाइ सय त्यस्ता बेरोजगार युवा छन्, जसले पाइलट अध्ययन सकेर लाइसेन्स पनि लिएका छन्, तर जागिर पाएका छैनन् । उडिरहेका जहाज हेरेर चाँडै काम पाउने सुन्दर सपना देखिरहेका छन् उनीहरू ।

निरञ्जनमान प्रधान सन् २०१० मा फिलिपिन्सबाट पाइलट पढेर आए । सोही वर्ष उनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कमर्सियल पाइलट लाइन्सेस (सिपिएल) लिए । त्यसपछि रोजगारका लागि विभिन्न एयरलाइन्स गए । तर, जागिर पाएनन् । क्षमता हुँदाहुँदै पनि रोजगारीका लागि उनलाई ठूला मान्छेको भनसुन पुगेन । तर, रोजगार पाउने आशा मारेनन् । सात वर्ष पुगेर लाइसेन्सको म्याद सकिँदासम्म पनि उनले निराशाबाहेक अरू केही हात पार्न सकेनन् । उल्टै एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्रोजन (एटिपिएल) अनिवार्य बनाइयो । ‘लाखौँ खर्च गरियो, पाइलट बनेर जहाज उडाउने सपना लिएर पढिएको थियो । रोजगारी नपाएपछि पाइलट बन्ने सपना त्यस्तै भयो,’ प्रधानले गज्जबसँग भने, ‘नेपालमा कुनै पनि क्षेत्रमा रोजगारी पाउनका लागि क्षमता मात्र भएर हुँदैन भन्ने मैले अनुभव गरेँ ।’ त्यसो त उनले अब पाइलट बनेर प्लेन उडाउने सपना छाडिसकेका छन् । उनी अहिले पारिवारिक पेसामा सक्रिय छन् । अब लाइसेन्स रिन्यु गर्न र एटिपिएल लिनका लागि कम्तीमा १८ लाख चाहिन्छ । भन्छन्, ‘कति खर्च गर्नु ? यति गरेर पनि रोजगार पाउँछु भन्ने छैन । त्यसैले अब सपना नै मारेर बसेको छु ।’ प्रधान त एक उदाहरण मात्र हुन् । उनीजस्ता झण्डै अढाइ सय युवा पाइलटको लाइसेन्स लिएर बेरोजगार बसिरहेका छन् ।

निरञ्जनमान प्रधान

पाइलट बन्न एक करोड

पाइलट भएर जहाजको ककपिटमामा बस्दासम्म पुगनपुग एक करोड खर्च हुन्छ । पढ्नकै लागि मात्र देशअनुसार ४५ देखि ६० लाखसम्म खर्च लाग्छ । त्यसपछि टाइपरेटिङ (कुन पदका लागि हायर गरेको हो सोअनुसार तालिम लिनका लागि विदेश जानुपर्छ) गर्नका लागि करिब २५ लाख र लाइसेन्स लिनका लागि १० लाखसम्म खर्च लाग्छ । तर, नेपालमा अहिले पाइलटको तलब सुरुको फेजमा ५० देखि ८० हजार रुपैयाँसम्म हुन्छ । तैपनि पाइलट बनेर प्लेन उडाउने सपना सजाउनेहरू धेरै छन् । त्यसका लागि उनीहरू राम्रै धनराशि खर्च गर्न तयार छन् । विदेश गएर मिहिनेतका साथ अध्ययन पनि गर्छन् । लाइसेन्स लिन्छन् । त्यसपछि सुरु हुन्छ टेन्सन । किनकि लाखौँ लगानी गरेर सबै प्रक्रिया पु¥याए पनि उनीहरूसँग जागिर हुँदैन ।

कतिले लिए लाइसेन्स, कतिले पाए रोजगारी ?

अहिलेसम्म स्वीकृति लिएर पाइलट पढ्न जानेहरूको संख्या एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्रोजन (एटिपिएल) का लागि एक सय ३० जना र कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) अन्तर्गत तीन सय ७८ जना छन् । जसमा एरोप्लेन र हेलिकोप्टर गरी विभाजन गरिएको छ । जसमध्ये एटिपिएलअन्तर्गत एरोप्लेनका लागि एक सय ९ र हेलिकोप्टरका लागि २१ जनाले लाइसेन्स लिएका छन् भने सिपिएलअन्तर्गत एरोप्लेनका लागि दुई सय ७७ र हेलिकोप्टरका लागि ५० जनाले लाइसेन्स लिएका छन् । प्राइभेट पाइलट लाइसेन्स (पिपिएल) जम्मा सातजनाले लिएको भए पनि सबैको समयावधि सकिएको नेपाल उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘सबै राजा–महाराजाले लिएकाले अहिले निष्क्रिय छन्’, उनले भने । तर, यो तथ्यांक कहिलेदेखिको हो भन्ने प्रस्ट नभएको उनले बताए । भन्छन्, ‘अहिलेसम्म कति पढ्न गए र कति आए भन्ने तथ्यांक हामीसँग छैन । मैले त खालि हेरेर मात्र जानकारी दिने हो ।’ सरकारी निकाय नै यसप्रति कति गैरजिम्मेवार छ भन्ने प्रवक्ता श्रेष्ठको भनाइले प्रस्ट हुन्छ । प्राधिकरणका निर्देशक राजु श्रेष्ठ प्राधिकरणमा कर्मचारी अभावका कारण पाइलट अध्ययनका लागि विदेश जानेको तथ्यांक राख्न सम्भव नभएको बताउँछन् । भन्छन्, ‘०५८ देखि पाइलट अध्ययन गर्न विदेश जान नेपाल उड्डयन प्राधिकरणको स्वीकृति लिन अनिवार्य बनाइएको हो । तर, अहिलेसम्म स्वीकृति लिएर जाने विद्यार्थीको एकमुष्ट तथ्यांक प्राधिकरणसँग छैन ।’

पढाइमै ३ अर्ब बिदेसियो

पाइलट पढ्न कम्तीमा ४५ देखि ६० लाख रुपैयाँ (कलेजअनुसार) खर्च लाग्छ । उड्डयन प्राधिकरणको भनाइलाई आधार मान्ने हो भने अहिलेसम्म करिब पाँच सय १० जना पाइलटले लाइसेन्स लिएका छन् । जसको पढाइबापत तीन अर्ब ६ करोड रुपैयाँ बिदेसिएको छ । यीमध्ये करिब तीन सयले मात्र रोजगारी पाएका छन् । अन्य सबै बेरोजगार छन् । स्वीकृति नलिएर पढ्नेको संख्यालाई पनि जोड्ने हो भने यसको तथ्यांक हजारको हाराहारीमा पुग्छ । यसरी हेर्दा अहिलेसम्म पाइलट विषयको पढाइकै लागि नेपालको एक वर्षको बजेट बाहिरिसकेको छ । तर, त्यसपछिको प्रतिफल भने सन्तोषजनक छैन । अहिले नेपालले पाइलट बन्नका लागि फिलिपिन्स, चीन, न्युजिल्यान्ड, अमेरिका, लुथेनिया, सिंगापुर, बेलायतजस्ता देशमा पढ्न जान स्वीकृति दिएको छ ।

लाइसेन्स लिन झन् धेरै झन्झट

पहिला कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) प्राप्त गर्न एयरपोर्ट ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटिपिएल) चाहिँदैन थियो । तर, अहिले सिपिएल पाउनका लागि एटिपिएल अनिवार्य गरिएको छ । एटिपिएलका लागि नेपालबाट नेपाल नागरिक
उड्डयन प्राधिकरण (क्यान)ले सिफारिस गरेको स्कुलमा जानुपर्छ । यदि क्यानले सिफारिस गरेकोभन्दा बाहेकको स्कुलबाट एटिपिएल लिएको भए क्यानले परीक्षा लिन्छ र पास गरेपछि मात्र सिपिएल दिन पाइन्छ । एटिपिएलका लागि लिखित परीक्षा हुन्छ ।

१० हजार दस्तुर  तिरेपछि बल्ल परीक्षा

एटिपिएलका लागि प्लेन उडाउनुपर्दैन । १४ घन्टाको कक्षा र त्यहीअनुरूप परीक्षा दिनुपर्ने हुन्छ । एटिपिएलको परीक्षा क्यानले नै जाँच गर्छ । क्यानले लिएको परीक्षा पास नगरे सिपिएल दिन पाइँदैन । कमर्सियल पाइलट लाइसेन्सका लागि परीक्षा दिन पहिला १० जना पुग्नुपथ्र्यो । अहिले एकजना मात्र भए पनि पाइन्छ । एटिपिएल गरेकाले क्यानमा गएर सिपिएलको परीक्षा दिन पाउने व्यवस्था छ । १० हजार दस्तुर तिरेपछि क्यानले समय मिलाएर परीक्षा लिन्छ ।

के छ प्रक्रिया ?

एटिपिएल लिनका लागि क्यानले हैदराबाद, लुथेनिया, अमेरिकाको स्कुलमा ट्रेनिङका लागि सिफारिस गर्ने गरेको छ । अहिले सिंगल इन्जिनको जहाज उडाउन सिकेको ट्रेनिङले मात्र नहुने भएको छ । डबल इन्जिनको जहाज उडाउन सिकेकाले मात्र रोजगारी पाउनेछन् ।

भारतबाट पाइलट ल्याएर प्लेन उडाउने अवस्था थियो

क्या. शेखर काफ्ले, बुद्ध एयर

नेपालको प्राइभेट एयरलाइन्समा काम गर्ने पाइलटमध्ये म पहिलो लटको हुँ । म नेपालको आकाशमा उडेको २६ वर्ष भयो । प्राइभेट एयरलाइन्स सुरु हुँदा पाइलट नभएर भारतबाट पाइलट ल्याएर प्लेन उडाउने अवस्था थियो । अहिले तीन सयभन्दा बढी पाइलट बेरोजगार हुनुपरेको अवस्था छ ।

पाइलटको क्रेज एक्कासि बढेको देख्दा अचम्म लाग्छ । नेपालमा एयरलाइन्सलाई आवश्यक पाइलटको संख्या कति हो भन्ने नबुझी पाइलट पढ्दा यस्तो अवस्था आएको हो । पाइलट पढेर आएर बेरोजगार बनेका पाइलट धेरै बिदेसिए भने केहीले पेसा नै परिवर्तन गरेका छन् । सिपिएल लिएको पाँच वर्षसम्म रोजगार नपाउँदा लाइसेन्सको भ्यालिड हुँदैन । रोजगार नपाउने भएपछि धेरैले खर्च गरेर फेरि रिन्यु गर्दैनन् । यसमा सम्बन्धित पक्षले वेलैमा ध्यान दिनुपर्छ ।

पहिला कमर्सियल पाइलट लाइसेन्स (सिपिएल) प्राप्त गर्न एयरपोर्ट ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटिपिएल) चाहिँदैन थियो । तर, अहिले सिपिएल पाउनका लागि एटिपिएल  अनिवार्य गरिएको छ ।

एटिपिएलको ८ देखि १२ महिनाको ट्रेनिङपछि मात्र लाइसेन्सका लागि परीक्षा दिन पाइन्छ । क्याप्टेन हुनका लागि भने तीन हजार घन्टा उडान भरेको हुनुपर्छ । तीन वर्षमा क्याप्टेन हुनका लागि आवश्यक योग्यता पुग्ने भए पनि नेपालको सन्दर्भमा चार वर्षसम्म लाग्छ । तीन हजार घन्टा उडान पुगेपछि एयरलाइन्सले नै क्यानको समन्वयमा परीक्षा गराउँछ । क्याप्टेन बनेपछि भने उडान गरेको घन्टाको हिसाबले रकम पाइन्छ । उनीहरूले एक घन्टाकै एक लाख रुपैयाँसम्म पाउँछन् ।

प्रहरीको फन्दामा  नक्कली पाइलट

नक्कली प्रमाणपत्र बनाएको आरोपमा गत साल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंका स्वच्छन्द घलेलाई पक्राउ गर्‍यो । बुद्घ एयरको को–पाइलटको रूपमा कार्यरत घलेले आइएस्सीको नक्कली प्रमाणपत्र बनाएर पाइलट पढेका थिए । उनले त्रिविबाट आइएस्सी पढेको सर्टिफिकेट बनाएको पाइएको थियो । त्यसैगरी नक्कली प्रमाणपत्र बनाएर पाइलट पढेको आरोपमा विशाल कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । गोमा एयरको को–पाइलटको रूपमा रहेका कार्कीले अस्कल क्याम्पसमा आइएस्सी पढेको नक्कली सर्टिफिकेट बनाएका थिए । उनीहरूजस्तै कैयौँ व्यक्तिले नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेको स्रोत बताउँछ ।

पाइलटको तलब कति ?

नेपालमा पाइलटको तलब यकिन यति नै हुन्छ भन्न सकिने अवस्था छैन । पाइलटको तलब एयरलाइन्सको नियम र तहअनुसार फरक–फरक हुने गरेको छ । क्याप्टेनहरूको तलब मासिक ७ लाख रुपैयाँसम्म हुने गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नेको भने ८ लाख रुपैयाँ तलब छ । यसबाहेक उडान भरेको छुट्टै पैसा आउँछ । यसरी क्याप्टेनले मासिक डोमेस्टिक उडानको १५ लाखसम्म कमाउँछन् भने अन्तर्राष्ट्रिय उडानको त्योभन्दा केही लाख बढी कमाइ हुन्छ । तर, यो सबै एयरलाइन्समा लागू हुँदैन । एयरलाइन्सअनुसार क्याप्टेनको तलब फरक–फरक हुन्छ । केही एयरलाइन्सले मासिक दुई लाखसम्म पनि दिने गरेका छन् ।

त्यस्तै को–पाइटल, सिनियर पाइलट र जुनियर पाइलटको तलब क्याप्टेनको भन्दा धेरै कम हुन्छ । सरकारी एयरलाइन्समा उनीहरूको मासिक तलब ८० हजारदेखि १ लाख ८० हजारसम्म हुन्छ भने निजी एयरलाइन्समा आपसी सहमतिमा दुईदेखि तीन लाखसम्म हुने गर्छ । त्यसबाहेक उडान भरेबापत उनीहरूले भत्ता पाउँछन् । भत्तास्वरूप उनीहरूले एक उडानको चार हजारसम्म लिन्छन् । यसमा पनि एयरलाइन्सअनुसार सबै गरेर मासिक तीनदेखि पाँच लाखसम्म कमाइ हुन्छ । पढाइ सकेपछि यस पेसामा लागेकाहरूको सुरुको तलब पचास हजारको हाराहारीमा हुन्छ । यो पनि एयरलाइन्सअनुसार फरक पर्छ । त्यसैले पाइलटले मासिक यति नै कमाउँछन् भन्न सकिँदैन । एयरलाइन्स र तहअनुसार तलब र भत्ता गरी उनीहरू मासिक ५० हजारदेखि १६ लाखसम्म कमाउँछन् ।

नाम नखोल्ने सर्तमा एक निजी एयरलाइन्सका क्याप्टेनले गज्जबसँग भने, ‘अहिले मेरो मासिक तलब दुई लाख ३० हजार जति हुन्छ । भत्तासमेत गरेर करिब पाँच लाखसम्म कमाइ हुन्छ ।’ भौगोलिक कारणले खतरा हुने भएकाले पहाडी क्षेत्रमा उडान भर्नेको तलब तुलनात्मक रूपले केही बढी हुने गर्छ । नेपालमा सिनियर पाइलटको तलब मासिक चारदेखि सात लाखसम्म हुने गर्छ । नेपाल एयरलाइन्सका एक सिनियर पाइलटले भने, ‘त्यही हो तलब र भत्ता गरेर मासिक १० देखि १५ लाखसम्म कमाइ हुन्छ । हाम्रो मासिक तलबभन्दा भत्ताबापत बढी आउने गर्छ ।’ मासिक १६ लाख कमाउन भने त्यति सजिलो छैन । त्यसका लागि विभिन्न तह पार गर्दै सिनियर पाइलट बन्नुपर्छ ।

ग्रिनकार्र्डधारी पाइलटको पोल खुलेपछि…

केही समयअघि नेपाल वायुसेवा निगमले एक ग्रिनकार्डधारी पाइलटलाई विज्ञताको नाममा मासिक १० लाख रुपैयाँ तलब खुवाएको रहस्य बाहिर आएको थियो । सरकारले ‘कि ग्रिनकार्ड कि जागिर’को नीति ल्याएपछि निगमले पनि आफ्नो नियमावली संशोधन गरी यही नियम लागू गरेको थियो । तर, त्यसविपरीत पाइलट आङनुरी शेर्पालाई निगमका उच्च अधिकारीको मिलेमतोमा सो रकम दिइएको हो । शेर्पाले मासिक ६ लाख तलब र प्रतिमहिना ७० घन्टा जहाज उडाएबापत प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता पाउँथे । उनले ‘वाई १२–ई’ चिनियाँ जहाज उडाउँदै आएका थिए । उनीजस्तै सोही जहाज उडाउनेको तलब भने दुई लाखभन्दा कम छ ।

त्यस्तै केही दिनअघि मात्र निगमले नै एक विदेशी पाइलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ तलब दिएर नियुक्त गरेको पोल खुल्यो । ‘अत्यावश्यक र प्राविधिक विशेषताले भरिपूर्ण व्यक्ति’ भन्दै इटलीका ग्याब्रिएल एसेन्जोलाई नियुक्त गरिएको हो । उनले जहाज भने उडाउँदैनन् । चालकको तालिम, जहाज सञ्चालन, नियम पालनाजस्ता कुरा उनी हेर्ने गर्छन् । यसरी विभिन्न बहानामा महँगो रकम दिएर विदेशी पाइलटलाई नियुक्क्ति गर्दा लाखौँ खर्च गरेर पढेका पाइलट भने बेरोजगार हुनु परेको छ । जागिर पाइहाले पनि सुरुवातमा उनीहरूले सन्तोषजनक तलब पाउँदैनन् । मासिक एक लाख तलबका लागि वर्षौँ कुर्नुपर्ने पाइलटहरूको गुनासो छ ।

के भन्छन् बेरोजगार पाइलटहरु ?

ट्रेनिङमै ६० लाख सकाएँ  सञ्जीव (नाम परिवर्तन)

म सन् २००८ मा फिलिपिन्सबाट ट्रेनिङ गरेर आए । नेपाल आएर जागिरका लागि विभिन्न एयरलाइन्सहरू धाएँ । तर, जागिर पाइनँ । सबैले पैसा मागे, मैले पैसा दिन सकिनँ । जसले गर्दा बेरोजगार हुनुपर्‍यो । मेरो लाइसेन्सको सन् २०१३ मा नै म्याद सकिएको छ । अहिले म पुख्र्यौली पेसामा व्यस्त छु । करिब ६० लाख पाइलटको ट्रेनिङमा सकिएको छ । एयरलाइन्सहरूले पाइलटमाथि ज्यादती गरिरहेका छन् ।  लाखौँ खर्च गरेर पाइलट पढेर बेरोजगार भएँ भन्न सक्ने अवस्था छैन । किनभने खुलेर भन्दा थप पीडित बन्न सक्छु । आखिर खुलेर भन्दा पनि  सुनुवाइ हुने होइन । यहाँको व्यवस्थामा परिवर्तन हुँदैन भन्नेमा म ढुक्क छु । झन् समाजले मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ भनेर म मेरो वास्तविकता खोल्न चाहन्नँ ।

काम पाउन मुस्किल छ निरोज (नाम परिवर्तन)

फिलिपिन्सबाट सन् २००५–०७ मा ट्रेनिङ लिएर मैले सन् २००८ मा लाइसेन्स निकालेको हुँ । त्यसै बर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पनि लाइसेन्स पाएँ । त्यसपछि जागिर खोज्ने थालेँ, तर पाइनँ । करिब नौ वर्ष बेरोजगार बस्नुप¥यो । पाँच वर्षसम्म उडान भर्न नसके हाम्रो लाइसेन्सको म्याद सकिन्छ । त्यसपछि फेरि रिन्यु गर्नुपर्ने हुन्छ । मैले करिब ७ महिनाअघि रिन्यु गरेको छु ।

सिपिएल लाइसेन्स प्राप्त गर्दासम्म पाइटल पढ्न ८० लाखसम्म खर्च लाग्छ । लाइसेन्स पाएपछि एयरलाइन्सले पाइलट हायर गर्छ र आफ्नै खर्चमा स्पेसियलाइजेसन गर्नका लागि तालिम गराउँछ । स्पेसियलाइजेसन गर्नका लागि २० देखि ४० लाखसम्म लाग्छ । त्यसपछि एयरलाइन्स छाडेर जान नपाउने सम्झौता गराउँछ । कम्तीमा पाँच वर्ष कतै जान नपाउने सम्झौता हुन्छ । स्पेसियलाइजेसन पहिला एयरलायन्सले नै गराउँथ्यो, तर आजभोलि एयरलाइन्सले पाइलटबाट पैसा लिन्छ । तर, अन्त राम्रो अवसर आए पनि हामी छाडेर जान पाउँदैनौँ ।

ट्रेनिङ कस्टको रूपमा एयरलाइन्सले २५ देखि ३० लाखसम्म लिने गरेको छ । मैले यो तिर्न नमानेर यत्तिकै यत्रो वर्ष काम गरिनँ । अहिले आएर नतिरी काम नपाएपछि तिर्न बाध्य भएँ । तिरेर नै उडान भर्न लागेको छु । पहिला पाइलट कम थिए, पढेर आएपछि काम पाइहाल्थे, अहिले धेरै छौँ, काम पाउन मुस्किल छ । मेरो एकजना साथी पढिसकेपछि अमेरिकामा गएर बसिरहेको छ ।

लाइसेन्स पाएँ, तर जागिर पाइनँ रविन (नाम परिवर्तन)

मैले सन् २००८ मा फिलिपिन्सबाट ट्रेनिङ गरेको हुँ । त्यसै वर्ष मैले क्यानबाट लाइसेन्स पाएँ । तर, जागिर पाइएन । त्यसवेला पाइलट पढेर आउनेको संख्या धेरै थियो । त्यसमाथि एयरलाइन्सहरूले स्पेसियलाइजेसन गर्न लाग्ने खर्च पनि पाइलटबाट नै लिन थाले ।

लाइसेन्स लिएको पाँच वर्षसम्म बेरोजगार बसेँ । त्यसपछि सन् २०१३ मा मेरो लाइसेन्सको म्याद सकियो । लाइसेन्सका लागि ट्रेनिङ लिएको स्कुल जानुपर्छ । पहिला सिपिएल लिनका लागि एटिपिएल लिनुपर्ने जरुरी थिएन । तर, सन् २०१३–१४ मा धेरै जहाज दुर्घटनामा परेपछि युएनले नेपाललाई ब्ल्याक लिस्टमा राख्यो र एटिपिएल अनिवार्य बन्यो । म अब फेरि लाइसेन्स रिन्यु गर्ने सोचमा छु । त्यसैले अहिले एटिपिएलका लागि तयारी गर्दै छु । एकपल्ट कोसिस गर्ने सोचमा छु । अहिले स्पेसलिस्ट ट्रेनिङ कस्ट स्यालरीबाट काट्ने सुविधा दिन थालेकाले केही सजिलो भएको छ ।

क्यान परिवर्तन प्रक्रियाले समस्या भयो सन्दीप (नाम परिवर्तन गरिएको)

मैले सन् २०१२–१३ मा फिलिपिन्सबाट फेडेरेल एभियसन एडमिनिस्ट्रेसन (एफए) गरेर आएको हुँ । त्यसपछि नेपालमा सिपिएलका लागि परीक्षा दिँदा सफल हुन सकिनँ । उता फिलिपिन्सको स्कुलबाट लिएको लाइसेन्स एक वर्षसम्म मात्र थियो । यहाँ नेपालको क्यानमा ६ महिनामा एकपल्ट मात्र सिपिएलका लागि परीक्षा दिन पाइन्थ्यो । मैले एकपल्ट परीक्षा दिएँ, त्यसमा असफल भएँ । अर्कोपल्ट दिन पाइनँ ।

लाइसेन्स रिन्यु गर्न पहिला मेडिकल हुन्छ, त्यसपछि लिखित र १० घन्टाको उडान परीक्षा दिनुपर्छ । र, यो सबै गर्नका लागि एक महिनादेखि २५ दिनसम्मको समय लाग्छ । क्यानले निश्चित मापदण्ड बनाए हामीलाई यस्तो दुःख हुँदैनथ्यो । क्यानले यिनीहरूसँग जति पनि पैसा हुन्छ, जति पनि खर्च गरेर प्रक्रिया पु¥याउँछन् भन्ने मनसायले काम गरेको जस्तो लाग्छ ।
एयरलाइन्सहरूको पनि निश्चित मापदण्ड छैन । पाइलट तालिम गरेर आएपछि पनि जागिर पाउनलाई सोर्सफोर्स लाउनुपर्ने अवस्था छ । कुन माध्यमबाट जागिरमा गएको हो, सोहीअनुसारको व्यवहार हुन्छ । खुला प्रतिस्पर्धाबाट आउनु असम्भवजस्तै छ । किनभने धेरै प्रतिस्पर्धाबाट ल्याउँदैनन् र ल्याए पनि एयरलाइन्सले राख्ने सम्झौता एकदम गाह्रो हुन्छ ।

क्यानको नियम परिमार्जन भएको छ
क्याप्टेन अनुप थापा, सौर्य एयरलाइन्स

बुद्घ एयरमा नौ वर्ष काम गरेर अहिले सेप्टेम्बरदेखि सौर्यमा कार्यरत छु । मैले सन् २००७ मा अमेरिकाबाट पाइलट गरेर आएको हुँ । त्यसवेला पाइलटको संख्या कम थियो । आउना साथ जागिर पाएँ । त्यसपछि पिचक्राफ्ट नाइनटिन हन्ड्रेडको टाइपरेटिङ युकेबाट गरेर आएँ । फेरि सन् २०११ मा बुद्घ एयरलाइन्सबाट नै एटिआरको टाइपरेटिङ अमेरिका पुगेर गरेर आएँ । मैले क्याप्टेन हुन २७ सय घन्टा उडान भर्नुपर्‍यो । सन् २०१२ मा क्याप्टेन भएँ । ग्यारेन्टी आवर मासिक ६० घन्टा छ । मेरो पालामा एटिपिएल जरुरी थिएन । टाइपरेटिङ गर्ने खर्च पनि एयरलाइन्सले नै व्यहोथ्र्यो । अहिले सबै आफैँ अर्थात् पाइलटले नै व्यहोर्नुपर्छ । पछिल्लो समयमा क्यानको नियमहरू परिमार्जन हुँदै आएको छ ।

बल्लतल्ल जागिर पाइयो
को—पाइलट पवन तामाङ, सौर्य एयरलाइन्स

सन् २०१२ मा साउथ अफ्रिकामा पाइलट पढेर आएको हुँ । त्यसवेला पाइलट पढेर आउने धेरै भएकाले जागिर पाइनँ । तीन वर्ष बेरोजगार बन्नुपर्‍यो । नमस्ते एयरलाइन्समा काम गर्ने भनेर जोइन गरेँ । एयरलाइन्स आउन सकेन, एक वर्ष त्यसै गयो । पछि जागिर खोज्दा पाइनँ । परिवारको साथ र सहयोगले गर्दा त्यस्तो धेरै अप्ठ्यारो परेन । बेरोजगार भएकाले मानसिक रूपमा टेन्सन भए पनि परिवारको साथ भएकाले अन्य पेसा वा जागिर खोजिनँ । पछि सौर्य एयरलाइन्समा जागिर पाएपछि जर्मनीमा टिआरजेट टु हन्ड्रेड (TRZ200) को टाइपरेटिङ र अमेरिकामा एटिपिएल गरेर आएँ । एक वषदेखि सौर्य एयरलाइन्समा को–पाइलटको रूपमा काम गरिरहेको छु । कम्तीमा पनि पेसा परिवर्तन गर्नु नपरेकोमा म खुसी छु । म सँगैका धेरै साथीहरू जागिर नपाएका बिदेसिएका छन् ।