एसएसबीले चेकजाँचमा कडाइ गर्दा सुनौली नाकामा प्रभाव जारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, नयाँ पत्रिका   |   साउन २५, २०७४

भारतीय सुरक्षा बल (एसएसबी)ले सीमामा आवतजावत गर्ने सर्वसाधारण तथा मालबाहक सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि भैरहवा–सुनौली नाका प्रभावित भएको छ । अहिले भैरहवा–सुनौली नाकामा झन्डै पाँच सयभन्दा बढी मालबाहक सवारीसाधन जाममा परेका छन् ।

एसएसबीले भारत प्रवेश गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई एक–एक गरी पूर्ण चेकजाँच गर्दा सीमामा मालबाहक सवारीसाधनको जाम बढेको हो । सर्वसाधारणले समेत आवतजावतमा अप्ठ्यारो महसुस भएको बताएका छन् । अहिले नेपाल र भारत दुवैतर्फ मालबाहक सवारीको निकै ठूलो जाम भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । ‘एसएसबीले नेपालबाट भारत जाने सर्वसाधारण तथा मालबाहक सवारीसाधनलाई पूर्णरूपमा सुरक्षा जाँच गर्न थालेको छ,’ उनले भने, ‘एउटा सवारी जाँचपास हुनै धेरै समय लाग्ने भएका हुँदा जाम झन््झन् बढिरहेको छ ।’

भैरहवा–सुनौली नाकाबाट दैनिक ५–६ सय ट्रक नेपाल भित्रिन्थ्यो । तर, अहिले मुस्किलले दुई सय ट्रक पनि भित्रिन नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताए । ‘करिब १५ दिनअघिदेखि एसएसबीले सुरक्षा जाँचका नाममा आवत जावतमा अवरोध गरिरहेको छ,’ उनले भने, ‘अझ पछिल्ला चार–पाँच दिनमा त नाकाबन्दी जस्तै गरिएको छ ।’ अहिले पेट्रोलियम पदार्थका ट्रक पनि भित्रिन नसकेको उनले बताए ।

दैनिक १५ लाख डिटेन्सन
नाकामा अवरोध हुँदा दुवैतर्फ पाँच–पाँच किलोमिटरसम्म मालवाहक सवारी जाम पुगिसकेको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष जयप्रसाद शिवाकोटीले बताए । ‘अहिले भारतबाट ल्याइएको एउटा सवरी एक दिन होल्ड हुँदा १५ सयदेखि २५ सय भारुसम्म अतिरिक्त भाडा (डिटेन्सन) लिन्छन्,’ उनले भने, ‘एउटै सवारी जाँचपास भएर नेपाल प्रवेश गर्न पाँच दिनसम्म लाग्दा नेपाली व्यवसायीले दैनिक १५ लाख भारु नोक्सान बेहोर्नुपरेको छ ।’

कसरी बढ्यो जाम ?
गत १४ असारमा स्थानीय तहको दोस्रो चरणको चुनाव हुँदा तीन दिन नाका बन्द भयो । त्यसपछि भारतले १ जुलाईबाट गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) सुरू गर्दा पनि दुई दिन नाका खुलेन । त्यसको असरले सीमानाकामा विस्तारै चाँप बढ्दै गएको थियो । दुई साताअघि लखनउस्थित विधानसभा परिसरमा बम पड्किएपछि एसएसबीले सीमामा सुरक्षा जाँचलाई कडाई ग¥यो । यसले नाका नराम्ररी प्रभावित भयो । एसएसबीको अस्वाभाविक किसिमको जाँचपासले सवारी जाँचपास प्रभावित हुँदा नाकामा चार सयभन्दा बढी मालवाहक सवारी रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

सहजीकरणको प्रयास, तर उपलब्धि भएन
नाकामा मालवाहक सवारीसाधनको जाम बढ्दै गएपछि दुवै मुलुकले सहजीकरणको प्रयास गरे पनि असफल हुँदै आएको छ । नाकामा सवारीको चाप बढ्दै गएपछि नेपाल र भारतका राजदूत, दुवै मुलुकका भन्सार अधिकारी र सुरक्षा अधिकारीहरूको दुईपक्षीय छलफल भएको भारतीय दूतावास काठमाडौंकी प्रवक्ता रुवि जस्प्रीत शर्माले बताइन् । दुवै पक्षले सहजीकरणको सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । तर, प्रयासका बाबजुद पनि सवारीको जाम भने कम हुन सकेको देखिँदैन ।

समाधान कसरी ?
फास्ट ट्र्याकबाट काम नभए समस्या समाधान हुन नसक्ने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले बताए । ‘नेपालको भन्सार र भारतीय सुरक्षाकर्मीले जनशक्ति थपेर जाँचपासलाई गति दिनुपर्छ,’ उनले भने, ‘दुवै पक्षले यही गतिमा काम गरे अवस्था झन् भयावह आउन सक्छ ।’ दुवै मुलुकका सरकारी अधिकारीहरूले जाम हटाउन प्रयास गरिरहेको जनाएका छन् । फास्ट ट्र्याकमा काम गर्नेबारे छलफल भइरहेको उनीहरूको भनाइ छ ।

 

के भन्छन् सरोकारवाला ?

दुवैतर्फबाट सहजीकरणको प्रयास भएको छ : दूतावास प्रवक्ता
भैरहवा नाकामा भएको अवरोधबारे काठमाडौंस्थित भारतीय दूतावासकी प्रवक्ता रुवि जसप्रीत शर्माको भनाइ छ, ‘मालबाहक सवारीसाधनको चेकजाँचका कारण जाम भएको हो । सवारी जाम हुनुमा दुवैतर्फ हुने चेकजाँचकै कारणबाहेक अन्य छैन । यसबीचमा दुवैतर्फका राजदूत, भन्सार प्रमुखहरू तथा सुरक्षा अधिकारीहरूबीच छलफल भएको थियो । सहजीकरणमा दुवैतर्फबाट अधिकतम प्रयास गर्ने सहमति भएको छ ।’

हाम्रो भन्सारको ढिलाइले झन् समस्या : मुरारका

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘विगतमा निर्वाचन र जिएसटी सुरुवातका कारण नाका बन्द भएकाले भैरहवा नाकामा चाप बढेको छ । अझ एसएसबीको सुरक्षा जाँचलाई कडाइ गरेपछि त नाकामा झन् अवरोधजस्तै देखियो । यस्तो अवस्थामा भैरहवा भन्सारले द्रुत गतिमा काम गर्नुको साटो झन् सुस्त भयो । जाम बढेकोबढ्यै छ, तर पूर्वाधार बढाइएको छैन भने जनशक्ति पनि थपिएको छैन । फास्ट ट्र्याकमा काम नगर्ने हो भने समस्या झन्झन् विकराल बन्ने निश्चित छ ।’

जीएसटी बिल नल्याउँदा जाँचपासमा ढिलाइ
रामशरण चिमोरिया
महानिर्देशक, भन्सार विभाग
भारतबाट आयात भएका वस्तुमा व्यवसायीले जीएसटी बिल नल्याउँदा थुप्रै ट्रक अड्किएका छन् । भन्सारमा हामीले कडाई गरेका छौं, त्यसको असर पनि देखिएको होला । तर, सकेसम्म छिट्टो भन्सार क्लियरेन्स गराउन हामी तत्पर छौं । यद्यपि, भारतीय पक्षले सुरक्षा जाँचमा गरेको ढिलाइले पनि त्यहाँ जाम बढेको हो ।

 

नेपाली व्यवसायी मारमा
जय शिवाकोटी
अध्यक्ष, भन्सार एजेन्ट महासंघ
भैरहवा नाकामा दुवैतर्फ पाँच–पाँच सय सवारीको लाइन लागेको छ । अहिले एउटा ट्रक जाँचपास हुन चार–पाँच दिन लाग्न थालेको छ । यसले गर्दा नेपाली व्यवसायीले दैनिक १५ लाख भारु डिटेन्सन बेहोर्नुपरेको छ । भारतीय पक्षले किन यस्तो अवरोध गरेको ? भन्ने खुल्न सकेको छैन ।