कार्ल माक्र्सको सम्झना –३ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रदिप गिरि, काठमाडौं   |   असार ३१, २०७४

सन् १९६४ मा ‘प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन’को स्थापना भयो । प्रथम अन्तर्राष्ट्रियमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स मात्र थिएनन् । उनीहरूको विचारधारासँग सहमत नहुने राजनीतिक व्यक्ति, समूह र संस्था पनि यस संगठनमा आबद्ध थिए । यस संगठनमा मजदुर वर्गको बाहुल्य थियो । उन्नाइसौँ शताब्दीमा सिंगो युरोप र अमेरिकासमेत पनि औद्योगिकीकरणतर्फ बढिरहेका थिए । प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठनमा मजदुरहरूको प्रतिनिधित्वले त्यसको आभास दिन्थ्यो । प्रथम अन्तर्राष्ट्रियको स्थापनाको लगत्तै पछि ‘पुँजी’ वा ‘दास क्यापिटल’को प्रकाशन भएको थियो । झन्डै हजार पृष्ठको यस भीमकाय ग्रन्थले पुँजीवादी दर्शनको आधारभूत मान्यताका उपर जोडदार प्रहार गरेको थियो । पुँजीवादी अर्थशास्त्रले माग र आपूर्तिको सिद्धान्तका आधारमा मजदुर वर्गसमेतलाई दीर्घकालीन दृष्टिले न्याय हुनेछ भन्ने दावा गरेका थिए । कार्ल माक्र्सले यस दावाको खण्डन गरे । त्यसो गर्दा कार्ल माक्र्सले पुँजीवादी अर्थशास्त्रको तर्क प्रणालीलाई आधार बनाएका थिए । पुँजीवादी अर्थशास्त्रले ‘श्रमको मूल्य सिद्धान्त’ प्रतिपादन गरेको थियो ।

कार्ल माक्र्सले यसै सिद्धान्तमा टेकेर श्रमको अतिरिक्त मूल्यको सिद्धान्त प्रस्तुत गरे । जटिल र गणितीय तर्कका आधारमा माक्र्सले यस सिद्धान्तको प्रतिपादन गरे । उनको भनाइ थियो, ‘मजदुरले उत्पन्न गरेको मूल्यको अतिरिक्त भाग अपहरण गरेर पुँजीवादको संसार सञ्चालित भएको छ । यो टिक्नेवाला छैन । मजदुर वर्गले विद्रोह गर्नुपर्छ, सारा संसारका मजदुर एक हुनुपर्छ ।’ कार्ल माक्र्सले इस्वी १९४८ मा कम्युनिस्ट घोषणापत्रमा आवेशमूलक आह्वान गरिसकेका थिए– ‘दुनियाँका मजदुर हो एक होऊ । तिमीहरूले गुमाउने कुरो केही छैन ।

पाउने भने सिंगो संसार छ – उठ, जाग र एक बन’ । बीस वर्षको अन्तरालमा लगातारको परिश्रमले कार्ल माक्र्सले आफ्नो आह्वानको औचित्यमा एक सम्पूर्ण शास्त्रको निर्माण गरेका थिए । दास क्यापिटल त्यस शास्त्रको शिखर थियो । कार्ल माक्र्सले दास क्यापिटल वा पुँजीलाई प्रथम भाग भनेका थिए । तर, त्यसको दोस्रो र तेस्रो भाग उनको जीवनकालमा पूरा हुन सकेन । उनले छोडेका शोधपत्र र टुक्राटाक्रीबाट फ्रेडरिक एंगेल्सलगायतका उनका मित्रहरूले पुँजीको दोस्रो र तेस्रो भाग बनाए । कार्ल माक्र्सको मृत्युपछि शेष दुई भागको प्रकाशन भयो । त्यस्ता प्रकाशनमा पुँजी प्रथम भागको सुगठन र तेज छैन।

पुँजी प्रकाशनको केही अघि कार्ल माक्र्सले अर्थशास्त्रका विषयमा गम्भीर अध्ययन थालेका थिए । कतिपय रचना प्रकाशित थिए । यस्ता प्रकाशनमध्ये ‘ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ प्रमुख थियो । दास क्यापिटलको प्रकाशनले त्यस कृतिलाई ओझेलमा पारेको छ । तर, त्यस ग्रन्थको भूमिकामा कार्ल माक्र्सले आफ्नो चिन्तन प्रणालीको संक्षिप्त, सुन्दर एवं स्पष्ट परिचय दिएका थिए । कार्ल माक्र्सका अध्येताका निमित्त त्यस उद्धरणको सम्झना अनिवार्य छ । त्यो यस्तो छ –

‘म मूलतः दर्शनशास्त्र र इतिहासको विद्यार्थी थिएँ । त्यसै अध्ययनको सिलसिलामा म न्यायशास्त्रका समीप पुगेँ । पढाइ सिध्याएपछि सम्पादकको काम गर्दै थिएँ । पत्रिकाको कामको जमर्कोमा जंगल–फाडा र सम्पत्तिको बाँडफाँटको विषयमा टिप्पणी गर्नुपर्ने भयो, म अल्मलिएँ । लगत्तैपछि आयात–निर्यातका विषयमा राजकीय नीतिका बारेमा टिप्पणी गर्नुपर्ने भयो । सम्पादकको दायित्व पूरा गर्दा आएको यस्ता कठिनाइले मलाई अत्याउँदै लगेको थियो ।

राज्यले हठात् मेरो पत्रिकालाई बन्द गर्यो । जो भयो ठीकै भयो भनेर मैले पत्रिकाको कामबाट अवकाश लिएँ । अनि म थप अध्ययनतिर लागेँ । सर्वप्रथम त मैले हेगेलको कानुनको दर्शन भन्ने पुस्तकको आलोचनात्मक अध्ययन प्रारम्भ गरेँ । मैले पेरिसमा रहँदा सन् १८४४ मा त्यस अध्ययनको निष्कर्ष प्रकाशित गरिसकेको छु । मैले बुझ्दै गएँ — कानुन र राजनीतिका ठेलीलाई मनुष्यको बौद्धिक विकासका आधारमा बुझ्न सकिने रहेनछ । बौद्धिक विकासका तथ्यलाई बुझ्न जनजीवनको भौतिक अवस्था बुझ्नुपर्छ । जनजीवनको संरचनाको साँचो अर्थशास्त्रमा मात्र भेटिन्छ । पेरिस र ब्रसेल्समा रहँदा–बस्दा म निष्कर्षमा पुगेँ –

 

‘भौतिक आवश्यकताको परिपूर्ति गर्न मानिसले आपसमा निश्चित सम्बन्ध बनाएर खेतीपाती, कल कारखाना चलाउनुपर्छ । कुनै खेत वा कारखानामा कोही ज्यामी, कोही भरिया, कोही हरुवा, कोही चरुवा, कोही जिम्दार, कोही मजदुर, कोही हाकिम हुन्छन् । यस्तो सम्बन्धमा मानिस राजीखुसी अल्झिएको हुँदैन । उसका बाध्यता हुन्छन् । मानिसले गाँस, वास र कपासको खोजीमा आफूखुसी काम रोज्दैन । तत्कालीन समाजको उत्पादन प्रणालीले मानिसलाई निश्चित सामाजिक सम्बन्धमा बाँधेको हुन्छ । उत्पादनको शक्ति र उत्पादनको सम्बन्धले समाजको आर्थिक ढाँचा तयार पार्छन् । राजनीतिक र कानुनी अधिरचना आर्थिक संरचनाका उपर खडा भएको हुन्छ ।

सामाजिक चेतनाले यस्तो अधिरचनासँग तादात्म्य र सादृश्य राख्दछन् । संक्षेपमा भन्ने हो भने भौतिक जीवनका उत्पादन प्रणालीले मानिसको सामाजिक, राजनीतिक र आध्यात्मिक जीवन प्रक्रिया निर्धारण गर्दछ । मानिसको चेतनाले उनीहरूको अस्तित्वको परिभाषा गर्दैन । सामाजिक अस्तित्वले उसको चेतनाको परिभाषा गर्दछ… क्रान्ति त्यसै हुँदैन । आर्थिक संरचना पहिले फेरिन्छ । त्यसका साथसाथै उपरी अधिरचना परिवर्तित हुन थाल्छन् । यस्ता परिवर्तनको अध्ययन गर्दा हेक्का राख्नुपर्ने एउटा महत्वपूर्ण कुरा छ । समाजमा भएको भौतिक परिवर्तनलाई प्राकृतिक विज्ञानका नियमसरह बुझ्न–बुझाउन सकिन्छ ।

तर कानुनी, राजनीतिक, धार्मिक, दार्शनिक र सौन्दर्यशास्त्रीय मान्यतामा आएको परिवर्तनबारे यही कुरो भन्न सकिँदैन । तिमी को हौ ? भनेर कुनै मानिसलाई सोध्दा उसले एउटा उत्तर दिन्छ । तर, उसको आफ्ना बारेको मान्यता सत्य हुनुपर्छ भन्ने छैन । कुनै युगविशेषको आत्मचेतना आत्मप्रवञ्चना हुन सक्छ । कुन युगको अन्तर्वस्तु के हो भन्ने कुरो त्यस युगविशेषमा रहेका उत्पादन प्रणालीको अन्तद्र्वन्द्वमा खोज्नुपर्छ । मान्यता र विचारमा खोजेर हुँदैन ।’

दास क्यापिटलको प्रकाशनका साथ माक्र्सले आफ्नो चिन्तन प्रणालीले सम्पूर्णता प्राप्त गरेको भन्ने एकहदसम्म सन्तोष पनि मानेका थिए होलान् । त्यसपछि उनले अर्को गम्भीर कृति लेखेनन् । अभावजन्य जीवन र इतर कारणहरूले पनि उनको लेखनलाई वाधा परेको थियो ।

फ्रेडरिक एंगेल्स माक्र्सभन्दा दुई वर्ष कान्छा थिए । एंगेल्सले माक्र्सलाई भेटेको दिनदेखि नै माक्र्सको सर्वतोमुखी श्रेष्ठता स्वीकार गरे । ‘म जे छु, माक्र्सले गर्दा छु, यो माक्र्सवाद जे हो, त्यो माक्र्सको सृजना हो’ भन्ने उक्ति एंगेल्स बारम्बार दोहोर्याइरहन्थे ।

प्रथम अन्तर्राष्ट्रियभित्र तत्काल नै अन्तरकलह प्रारम्भ भएको थियो । प्रथम अन्तर्राष्ट्रियको गठनपछि माक्र्सले युरोपको समाजवादी पार्टीहरूको गतिविधिमा चासो लिन थालेका थिए । पुँजीको प्रकाशन भएपछि उनी अझ गहन रूपमा दलीय राजनीतिमा चासो लिन थाले । उनले युरोपका लगभग सबै मुलुकमा सामान्य चासो लिन थालेका थिए । तर, जर्मनीको सोसल डेमोक्रेटिक पार्टीप्रति भने उनको विशेष लगाव थियो । जर्मन सोसल डेमोक्रेटिक पार्टीलाई उनी आफ्नो पार्टी सम्झन्थे । युरोपीय राजनीतिमा हस्तक्षेप गर्ने सिलसिलामा लेखिएका उनका आलेख र पत्रहरू सबै बेजोड छन् । जर्मन सोसलिस्ट पार्टीको इस्वी १९७४ को एकीकरणको पृष्ठभूमिमा इस्वी १९७५ मा लेखिएको चिठी उनको वैचारिक इतिहासमा एउटा कोसेढुंगा थियो ।

मई १९७५ को कुरा हो, माक्र्सले ब्रेक भन्ने एक मित्रलाई एउटा लामो चिठी लेखे । जर्मनीमा रहेका दुई समाजवादी पार्टीहरूको एकीकरण भइसकेको थियो । एउटा पार्टी उही कार्ल माक्र्सले मन नपराउने फर्डिनेन्ड लासाल भन्ने मान्छेले स्थापित गरेको पार्टी थियो । अर्को पार्टी कार्ल माक्र्सका समर्थक मित्रद्वय विलियम लेवनेक्थ र अगस्त वेवलले खडा गरेका थिए । दुवै प्रतिभाशाली नेता र संगठक थिए । लासाल, विलियम लेवनेक्थ र अगस्त वेवल तीनैजना मूलतः राजनीतिक प्राणी थिए । उनीहरू अपठित थिएनन् ।

तर, पढाइ उनीहरूको प्राथमिकता थिएन । लासालको देहान्तपछि उनीद्वारा स्थापित पार्टी नेतृत्वविहीन भएको थियो । अर्कोतिर जर्मनीमा मजदुर आन्दोलन झाँगिदै थियो । दुई पार्टीका नेताले एकीकरणको निर्णय गरे । एकीकरणको अवसरमा एउटा संयुक्त कार्यपत्र स्वीकार गरियो । एक त कार्ल माक्र्सले फर्डिनेन्ड लासाल भन्ने मान्छे कहिल्यै मन पराएनन् । दोस्रो एकीकरण कार्ल माक्र्सका सिद्धान्त र मान्यताअनुरूप भएको थिएन । कार्ल माक्र्स लन्डनमा निर्वासित जीवन बिताइरहेका थिए । वेवल र लिवनेक्थ जर्मनीको अप्ठेरो अवस्थामा राजनीति गर्दै थिए ।

कार्ल माक्र्सले भनेका हिसाबले जर्मनीभित्रको राजनीति हिँड्ने कुरा थिएन । एकीकरणको घोषणापत्रले कार्ल माक्र्स आगो भए । कार्ल माक्र्सले गोथामा भएको त्यस एकीकरणको घोषणापत्रको विरोधमा कडा प्रतिवाद गरेका छन् । त्यो प्रतिवाद मननीय छ । गोथा क्रिटिकका नामले जानिएको यस दस्तावेजले कार्ल माक्र्सको व्यक्तित्वको परिचय दिन्छ । सिद्धान्तका सवालमा उनी असहिष्णु थिए । उनलाई व्यावहारिक राजनीतिको कुनै अनुभव थिएन ।

पुँजी प्रकाशनको केही अघि कार्ल माक्र्सले अर्थशास्त्रका विषयमा गम्भीर अध्ययन थालेका थिए । कतिपय रचना प्रकाशित थिए । यस्ता प्रकाशनमध्ये ‘ए कन्ट्रिब्युसन टु द क्रिटिक अफ पोलिटिकल इकोनोमी’ प्रमुख थियो । दास क्यापिटलको प्रकाशनले त्यस कृतिलाई ओझेलमा पारेको छ ।

क्रिटिक्स अफ गोथा प्रोग्राममा कार्ल माक्र्सले पहिलोपटक समाजवाद र साम्यवादको भावी तस्बिर पेस गरेका छन् । सामान्यत : माक्र्स भोलिको तस्बिर कोर्न चाहन्नथे । त्यो काल्पनिक र अव्यावहारिक हुन्छ भन्ने उनलाई थाहा थियो । तर, त्यही पनि माक्र्स लेख्छन् –

‘अब हामी साम्यवादी समाजको कुरा गरौँ । यो कुरा गर्न सजिलो छैन । यसमा पहिलो कुरा बुझ्नुपर्ने के छ भने समाजवादी समाज पुँजीवादको गर्भबाट जन्म हुन्छ । तदनुरूप उसमा त्यस्तै जन्मखत र आनुवंशिक विशेषता रहन्छ । प्रारम्भिक चरणमा एकैसाथ सबैलाई समान बनाउन सकिँदैन । मानिस यसै पनि समान हुँदैन । एउटा मानिस अर्कोभन्दा शारीरिक र मानसिक रूपबाट श्रेष्ठतर छ भने उति नै समयमा उसको उत्पादकत्व ज्यादा हुन जान्छ । अथवा, दुई समान योग्यता भएका मानिस नै छन् भने पनि एउटाले बढी परिश्रम गर्दा उसको उत्पादकत्व अर्काको भन्दा बढ्ता हुन जान्छ । यस्ता दुई कामदारले एकनासको पारिश्रमिक पाउन सक्दैनन् । यस्तो गर्दा न्याय र अधिकारको प्रचलित धारणा विचलित हुन्छ । अधिकार र समानता अलग–अलग कुरा हुन् । मानिसको नैसर्गिक अधिकारलाई थिचोमिचो गरेर समानता कायम गर्नु अन्याय हुन्छ । यसैले उत्पादन शक्तिको वर्तमान चरणमा समाजमा असमानता रहन्छ ।’

तर, यो पहिलो चरण मात्र हो । यो पहिलो चरणपछि हामी अर्को युगमा प्रवेश गर्न सक्छौँ । आर्थिक विकासको उच्चतर चरणमा मानिसले तदनुरूपको अधिकार, समानता र उपलब्धि प्राप्त गर्नेछ ।

साम्यवादको उच्चतम चरणमा श्रम विभाजनको बाध्यता समाप्त हुनेछ । मनुष्य मात्र उत्पादनको दासताबाट मुक्त हुनेछ । मानसिक र शारीरिक परिश्रमको विभाजन रहनेछैन । मनुष्यले जीवन निर्वाहका निमित्त श्रम गर्नैपर्ने बाध्यता रहँदैन । श्रम बाध्यताको विषय नभएर आनन्दको अभ्यास हुनेछ । मनुष्यका निमित्त श्रम रहरको कुरा हुनेछ । हैन भने मनुष्यलाई चाहिने यावत् कुरा उत्पादनको शक्तिले सहज बनाइसकेका हुनेछन् । मानिसको व्यक्तित्व सर्वाङ्गीण विकासका तर्फ उन्मुख हुन्छ । सामूहिक र सहकारी श्रमका आधारमा समाजले कल्पनातीत उत्पादन हासिल गरेको हुन्छ । अनि मात्र अधिकारको प्रचलित मान्यताको अन्त हुन्छ । प्रत्येक मनुष्यबाट उसले गर्न सक्ने काम मात्र लिइन्छ, कुनै करकाप हुँदैन । उसले गर्न सकेकै कामका आधारमा कुनै मोलतोलविना उसका प्रत्येक आवश्यकता पूरा हुन्छन् ।

इस्वी १९७५ पछि माक्र्सको जीवन अपेक्षाकृत शिथिल रह्यो । तर, त्यो बाह्य दृश्य मात्र हो । बढ्दो उमेर र शारीरिक अस्वस्थताले गर्दा उनी अवश्य परेसान थिए । उनको जोस, होस, प्रतिबद्धतामा कुनै कमी आएको थिएन । उनी युरोपका सबै मजदुर आन्दोलनसँग घनिष्ट सम्पर्क राख्थे । उनी अनवरत पत्राचार गर्थे । गोथा कार्यक्रमको आलोचना यस्तै पत्राचारको एउटा शृंखला थियो । कार्ल माक्र्सका आखिरी वर्षमा मानिस उनको व्यक्तित्व र कृतित्वमा चासो राख्न थालेका थिए । माक्र्सका बारेमा फाटफुट समाचार छापिन्थे । एउटाले उनको जीवनीसमेत लेख्यो । यो सबले माक्र्सलाई प्रसन्न तुल्याएको थियो । माक्र्सको पारिवारिक जीवन आनन्ददायक थियो । फ्रेडरिक एंगेल्स सिंगो परिवारका अभिभावक थिए । फ्रेडरिक एंगेल्सको पिताको देहान्त भइसकेको थियो । एंगेल्स आफ्नो श्रीसम्पत्तिका एक मात्र मालिक थिए । हरेक गाह्रो–सारोमा फ्रेडरिक एंगेल्स माक्र्स र उनको परिवारको बचाउ गर्न अघि सर्थे । माक्र्सको जीवनको आखिरी दशक आर्थिक दृष्टिले त्यस्तो अभावग्रस्त रहेन ।

फ्रेडरिक एंगेल्स माक्र्सभन्दा दुई वर्ष कान्छा थिए । एंगेल्सले माक्र्सलाई भेटेको दिनदेखि नै माक्र्सको सर्वतोमुखी श्रेष्ठता स्वीकार गरे । ‘म जे छु, माक्र्सले गर्दा छु – यो माक्र्सवाद जे हो, त्यो माक्र्सको सृजना हो’ भन्ने उक्ति एंगेल्स बारम्बार दोहोर्याइरहन्थे । माक्र्ससँग उनको कुनै प्रतिस्पर्धा थिएन । माक्र्सवादको इतिहासमा बेलाबखत एउटा कुरा उठेको छ । माक्र्स र एंगेल्सका विचारधारा के साँच्चै नै एक–अर्काका पूरक हुन् त ? के दुवै साँच्चै नै एकैनासले सोच्थे त ? माक्र्सवादका केही विद्वान्ले यसमा शंका प्रकट गरेका छन् । उनीहरूका अनुसार कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको माक्र्सवादको प्रकृति सर्वथा भिन्न कोटिको थियो । कार्ल माक्र्समा कुनै किसिमको नियतिवाद थिएन ।

माक्र्स मूलतः एक मानवतावादी चिन्तक थिए । मनुष्यले आफ्ना सृजनात्मक शक्तिका आधारमा इतिहास बनाउँछ । इतिहासमा उनले आर्थिक कारणको कुनै लौह नियमलाई स्वीकार गर्दैनन् । कार्ल माक्र्सको ‘आर्थिक एवं दार्शनिक टिपोट’ भन्ने कृति सन् १९३१ मा प्रकाशित भयो । यो कृति मानवतावादी रुझानबाट अभिप्रेरित छ । यस कृतिमा माक्र्सले मनुष्यको विशेष गरेर श्रमिकको आत्मनिर्वासनको कुरा उठाएका छन् । माक्र्सको कथन स्पष्ट छ – ‘पुँजीवादले मजदुरको आर्थिक शोषण मात्र गर्दैन, पुँजीवादको उत्पादन प्रणालीले मान्छेलाई मान्छे रहनसमेत दिएको छैन ।’ श्रमका माध्यमबाट मानिसले पहिले–पहिले आत्माभिव्यक्तिसमेत प्राप्त गरेका थिए । अहिलेको उत्पादन प्रणालीले मानिसलाई मेसिनको एउटा पुर्जा मात्र रहन दिएको छ । माक्र्स साम्यवादी समाजमा यस स्थितिको अन्त्य देख्न चाहन्छन् ।

प्रदीप गिरि

दास क्यापिटलमा माक्र्स बारम्बार पुँजीवादी प्रणालीमा अनिवार्य रूपमा विघटन हुँदै जाने मानवीय अस्मिताको कुरा झिकिरहन्छन् । तर, एंगेल्समा भने यस्तो मानवीय भावनाको उपस्थिति छैन भन्ने आरोप छ । एंगेल्सले निश्चय नै माक्र्सवादलाई केही अलग मोड दिए । व्यक्तिगत जीवनमा कार्ल माक्र्सलाई कला, साहित्य र दर्शनमा विशेष अभिरुचि थियो । अझ सेक्सपियरका नाटक भनेपछि त उनी हुरुक्कै हुन्थे । उनकी एउटी छोरी सेक्सपिरिएन रंगमञ्चमा अभिनेत्री थिइन् । तर, एंगेल्स मूलतः विज्ञानका विद्यार्थी थिए । फलस्वरूप माक्र्सवादलाई उनी यथासम्भव वैज्ञानिक रूपमा प्रस्तुत गर्ने जमर्को गर्थे । एंगेल्स माक्र्सको देहान्तपछि माक्र्सवादका एक मात्र आधिकारिक व्यख्याता बने । माक्र्सका सिद्धान्तप्रति एंगेल्समा अत्यन्त ठूलो उत्साह थियो । एंगेल्स माक्र्सका सिद्धान्तको शिक्षा इसाई धर्म प्रचारकसरह फिँजाउन चाहन्थे । उनको भाषा पनि सहज र सुबोध थियो । माक्र्सको जीवनकालमै उनले एन्टिड्युरिङ भन्ने एक विशाल ग्रन्थ लेखेका थिए । यस्तो अचम्मको नाम भएको त्यस पुस्तकको एउटा भाग ‘समाजवाद काल्पनिक कि वैज्ञानिक ?’ भन्ने शीर्षक आज उप्रान्त पनि लोकप्रिय छ ।

दोस्रो पुस्ताका माक्र्सवादीहरूका निमित्त त यो पाठ्यपुस्तक बन्यो । समाजवादको विकास यात्राको रेखांकन गरिएकोे एंगेल्सद्वारा लिखित यो पुस्तक तन्नेरी पुस्ताका निमित्त पहिलो किताब भएको छ । त्यति मात्र होइन, पुस्तकलाई लगभग डार्बिनवादको सिद्धान्तजस्तो भएको छ भनेर आलोचकले टिप्पणी गरेका छन् । त्यो जेसुकै भएको भए पनि माक्र्सोत्तर संसारमा एंगेल्सका प्रभावमा नै समाजवादको प्रचार प्रसार भएको सत्य हो । एंगेल्सले प्रकृतिक एवं भौतिक शास्त्रसमेत द्वन्द्ववादका आधारमा सञ्चालित छ भनेका छन् । यसले झन् ठूलो विवादको सृष्टि गरेको छ । त्यो विवाद आज पनि जारी छ ।

प्रथम अन्तर्राष्ट्रियको स्थापनाको लगत्तै पछि ‘पुँजी’ वा ‘दास क्यापिटल’को प्रकाशन भएको थियो । झन्डै हजार पृष्ठको यस भीमकाय ग्रन्थले पुँजीवादी दर्शनको आधारभूत मान्यताका उपर जोडदार प्रहार गरेको थियो । पुँजीवादी अर्थशास्त्रले माग र आपूर्तिको सिद्धान्तका आधारमा मजदुर वर्गसमेतलाई दीर्घकालीन दृष्टिले न्याय हुनेछ भन्ने दावा गरेका थिए ।

एंगेल्सपछि कार्ल काउत्स्की, एडबर्ड बर्नास्टिन र जर्ज प्लेखानोब माक्र्सवादका तीन प्रख्यात पण्डित निस्किए । एडबर्ड बर्नास्टिनलाई त संशोधनवादी भनेर सुरुमै पाखा पारियो । तर, कार्ल काउत्स्की र प्लेखानोब प्रथम महायुद्धको विस्फोटसम्म समादृत थिए । लेनिनको सिंगो पुस्ता यी दुई अग्रजबाट शिक्षित र दीक्षित थिए । काउत्स्की र प्लेखानोबको माक्र्सवाद भने झन् यान्त्रिक रूपमा नियतिवादी थियो । पुँजीवादको ऐतिहासिक विकासक्रमले अनिवार्य रूपमा समाजवादमा पुर्याउँछ भन्ने काउत्स्की र प्लेखानोबको अद्भूत विश्वास थियो । यसैको उपपत्तिको रूपमा उनीहरू पुँजीवादको उत्कर्षपछि मात्र समाजवादी क्रान्तिको चरण प्रारम्भ हुन्छ भन्थे । काउत्स्की र प्लेखानोब रुसको बोल्सेभिक क्रान्तिलाई समाजवाद उन्मुख परिघटनासमेत भन्न मानेनन् । लेनिन, ट्रटस्की, बुखारिनलगायतसँग दुवैको खुब भनाभन भयो । तर, रुसी कम्युनिस्टले यी दुवैलाई टेरेनन् । आफ्नो बाटोमा अगाडि हिँडिरहे ।

तर, उनीहरूको वैचारिक प्रभावबाट भने प्रशस्त मात्रमा मुक्त हुन सकेनन् । कुरा रुसी या चीनको कम्युनिस्टमा सीमित छैन । आजको नेपाली कम्युनिस्टहरू पनि पुँजीवादको पूर्ण विकास नभई समाजवादी कार्यक्रम लागू गर्न सकिँदैन भन्छन् । अझ यताका वर्षहरूमा रुस र चीन फेरि पुँजीवादी बाटोमा फर्किएपछि विश्वका कम्युनिस्टहरू झन् किंकर्तव्यविमुढ भएका छन् । अरू त अरू आफूलाई मओवादी भन्ने मित्रहरूसमेत यस चक्रव्यूहबाट उम्कन सकेका छैनन् । यो सबको निमित्त अध्येताहरूले एंगेल्स, काउत्स्की र प्लेखानोरूपी त्रिमूर्तिलाई दोष दिने गरेका छन् । यस त्रिमूर्तिको प्रभावमा कम्युनिस्ट र सोसल डेमोक्र्याटसमेत आर्थिक नियतिवादको भूमरीमा फसे भन्छन् । कार्ल माक्र्सलाई भने चोखो राखिन्छ । संसारमा यस समय माक्र्सवादको नाममा प्रचलित भौतिकवादी नियतिवाद निश्चय माक्र्स दर्शनको केन्द्रीय तत्व होइन । कार्ल माक्र्सलाई नियतिवादको आरोप लाग्नै सक्दैन । कुनै पनि क्रान्तिकारी नियतिवादी हुनै सक्दैन । क्रान्ति मानवको स्वभावको श्रेष्ठ सृजनात्मक कृति हो । यो मानवीय स्वतन्त्रताको परिपाक हो । माक्र्सले बेलाबखतमा भौतिकवादको कुरा अवश्य गरेका छन् । तर, प्रचलित संसारमा रहेको बुझाएको विकृत भौतिकवादसँग उनको कुनै साइनो गाँस्न सकिँदैन ।

माक्र्सले संसार र प्रकृतिको उत्पति र विकास कसरी भएको हो ? भन्ने प्रसंगमा भौतिकवादको कुरा गरेका थिए । पूर्व र पश्चिम दुवैतिर मानिसले जमानादेखि सृष्टिको रहस्यको विषयमा अनुमान गरेका छन् । धर्म र दर्शनशास्त्रमा चेतना अथवा पदार्थ कुनचाहिँ पहिलो हो भन्ने कुरो उठ्छ । झन्डै सबैजसो धार्मिक परम्परामा चेतनालाई प्राथमिकता दिएको छ । कतिपय दार्शनिकहरूले पदार्थलाई आदि तत्व मानेका छन् । माक्र्सका अग्रज दार्शनिकहरूले चेतना र पदार्थको द्वन्द्वको कुरामा खुबै मगज खियाएका थिए । यो दार्शनिक जिज्ञासा करिब–करिब कुखुरा र अन्डामा कुन पहिले भनेजस्तो गतिमा पुगिसकेको थियो । हेगेल र फायरुखवादको मद्दतले माक्र्सले यस द्वन्द्वको सामना गरे । यो दार्शनिक द्वन्द्व नै कृत्रिम हो भन्ने निष्कर्षमा पुगे ।

समाजको विकासको इतिहासमा भने उनले भौतिक वस्तु विशेषतः उत्पादनका संयन्त्रहरूको भूमिका देखाए । चेतना आफू र भौतिक वस्तुका बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । चेतना भनेको चेतना होइन, यो त जहिले पनि बाह्य कुनै वस्तुको चेतना हुन्छ । तर, फेरि यस्तो चेतना ग्रहण गर्ने क्रममा मस्तिष्क कुनै एउटा ऐनासरह निष्क्रिय र निर्जीव रहँदैन । मानिसले कुटो, कोदालो, हँसिया, खुर्पा, बन्चरो, हलो, पांग्रा, नाउजस्ता प्रारम्भिक उपकरण बनाएर मात्र सभ्य हुन सकेको हो भन्ने उनको आग्रह छ । यस्ता संयन्त्रहरूको विकारका क्रममा मात्र विचारको पनि महत्व हुन्छ । माक्र्सको भौतिकवाद पनि यही हो । माक्र्सले आपूmलाई भन्नुपर्दा यस दृष्टिलाई इतिहासको भौतिकवादी व्याख्या भनेका छन् । उनले यसलाई ऐतिहासिक भौतिकवाद भन्ने पदावली पनि विरलै प्रयोग गरेका छन् । उनले द्वन्द्वात्मक भौतिकवाद भन्ने अवधारणाको त प्रयोग नै गरेका छैनन् ।

साम्यवादको उच्चतम चरणमा श्रम विभाजनको बाध्यता समाप्त हुनेछ । मनुष्य मात्र उत्पादनको दासताबाट मुक्त हुनेछ । मानसिक र शारीरिक परिश्रमको विभाजन रहनेछैन ।

कुनै पनि व्यक्तिविशेषको नाममा विचारधाराको नामकरण गर्नु गलत हो । त्यस नामकरणसँग देवत्वकरण गाँसिएर आउँछ । निश्चय समाजवादको इतिहासमा माक्र्सवादको संज्ञाले उपद्रो गरेको छ । त्यसका निमित्त माक्र्स र एंगेल्सलाई सारा दोष दिन सकिँदैन । अगस्ट ५, १८९० मा एंगेल्सले आफ्ना एक सहकर्मी कोनर्ड स्मिथलाई एउटा लामो पत्र लेखेका छन् । त्यो पत्र अर्थपूर्ण छ । त्यस लामो पत्रमा उनले दुईवटा महत्वपूर्ण कुरामा जोड दिएका छन् । माक्र्सले माक्र्सवाद भन्ने शब्दको उपहास गरेको कुरा किटेरै लेखेका छन् । सँगसँगै अाफूले लेख्दा–बोल्दा इतिहासको भौतिकवादी व्याख्यालाई एकांगी बनाए भन्ने उनको आत्मस्वीकृति छ ।

उनले प्रस्ट लेखेका छन्– ‘इतिहासको भौतिकवादी व्याख्याका नाममा अध्ययनहीन व्यक्तिले बर्बाद नै गरेका छन् ।’ त्यस सिद्धान्तअनुसार इतिहासको गहिरो अध्ययन पो गर्नुपर्छ त । जर्मनीको युवापुस्ताले भौतिकवाद भन्ने सिद्धान्तलाई एउटा मन्त्रजापको रूपमा लिएको छ । हामीले यो सिद्धान्तलाई इतिहास अध्ययनको एउटा पद्धतिको रूपमा मात्र अगाडि सारेको हो । इतिहासलाई नयाँ किसिमबाट हेरिनुपर्छ । प्रत्येक समाजविशेषको संरचनालाई छुट्टाछुट्टै केलाउनुपर्छ । अनि मात्र त्यहाँको कानुन, धर्म, दर्शन र राजनीतिसमेतका बारेमा केही बुझ्न सकिन्छ । अहिलेसम्म यस क्षेत्रमा काम गर्ने कुनै गतिलो विद्यार्थी निस्केको छैन । यस अध्ययनबाट उम्किनका लागि ऐतिहासिक भौतिकवादको संज्ञा बहाना भएको छ । यसो होइन, त्यस्तो गरिनु हुँदैन ।

लगत्तैपछि उनले यसै विषयमा जोसेफ ब्रज भन्ने एक अर्का सज्जनलाई झन् लामो चिठी लेखेका छन् । त्यस पत्रमा उनले यस्तो नचिताएको अवस्था उत्पन्न हुनका निमित्त आफूलाई समेत जिम्मेवार ठहर्याएका छन्– ‘त्यतिवेला युरोपियन समाजमा तथाकथित आदर्शवादको ठूलो बोलवाला थियो । त्यसैले हामीले त्यस्ता मान्यताको खण्डन गर्न भौतिकवादमा जरुरतभन्दा ज्यादा जोड दिएकै हो ।’ तर, अब यसलाई सच्याउनैपर्छ भन्ने एंगेल्सको आत्मालोचना छ ।

याे पनि पढ्नुस्

दुई सय वर्षको सम्झना कार्ल माक्र्स

दुई सय वर्षको सम्झना कार्ल माक्र्स-२