सुखैसुखमा हुर्केका थिए भानुभक्त - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असार २९, २०७४
शर्वराज आचार्य

आदिकवि भानुभक्त आचार्यको बाल्यकाल सुखद थियो । यिनको जन्म हुँदा धनञ्जयका भाइहरूका पनि सन्तान भइसकेका थिए । खास गरी भानुभक्तका माहिला बाबु काशिनाथ आचार्य र साहिँला बाबु पद्मनाभ आचार्यका छिट्टै सन्तान भए । कुनै भाइका सन्तान जन्मिँदै थिए । त्यसकारण बालक अवस्थाका भानुभक्तका खेल्ने साथी आफ्नै काकाका छोराहरू थिए । नातामा यिनीहरू कुनै दाजु र कुनै भाइ पर्थे । तिनीहरूको नाम ब्रह्मदत्त, गोकुलप्रसाद, बलभद्र, गौरीदत्त, देवीदत्त, वेद शर्मा थियो । यिनैसँग भानुभक्तको बालक्रीडा हुन्थ्यो ।

बालक्रीडामा पौडी, स–साना रूखमा ससैला, हुतुतु, पांग्रा, सिरुपाते, टाक्कोरी र पिट्टाइहरू पर्थे । हुतुतु र पांग्राबाहेक अन्य खेलमा बालक र बालिका दुवै सम्मिलित हुन्थे । बालकहरू कान्लाबाट हाम्फाल्ने र ढुंगाको छेलो हान्ने पनि गर्थे । मौसमअनुसार जंगल र बगैँचामा गई आँप, अम्बा र एेँसेलु र काफल टिप्नु बालकहरूको नित्यकर्म हुन्थ्यो । आचार्यबाहेक गाउँका पण्डित, पौडेल, ढकाल, कोइराला, अर्जेल, भाट, जनजाति र दलितका सन्तान पनि उनका बालवयका साथी थिए । ब्राह्मण र क्षेत्री जातमा बालकमा व्रतबन्ध नगरुन्जेल छोइछिटो गर्ने चलन हुन्थेन ।

भानुभक्तको घरमा तत्कालीन समयअनुसारका काम गर्ने नोकर, चाकर, दास, दासी वा कमारा–कमारी प्रसस्तै थिए । तिनीहरू घरमै बस्थे, खान्थे र काम गर्थे । भानुभक्तका गोठभरि गाई, भैँसी र खोरभरि बाख्रा थिए । दूध, दही र घिउको पौल थियो । बेँसीको घर भएको ठाउँ पुरन्डिहीमा थरीथरीका फलफूल थिए । उनी बालवयमा फलफूल खाएर रमाउँथे । आमा, हजुरबा, हजुरआमा र काकाकीको मीठो स्नेह थियो । परम्परित बिर्ताको खेतपाखो थियो । संयुक्त घर भएकाले १८ हल त गोरु मात्रै थिए । खेतपाखाबाट मनग्य उब्जनी हुन्थ्यो । यस सम्पन्नतामा भानुभक्त आचार्यलाई कुनै भौतिक र आध्यात्मिक अभाव थिएन । उता, बाबु धनञ्जय आचार्य तत्कालीन प्रधानमन्त्री भीमसेन थापाजस्ता शासकका प्रियपात्र थिए । यसले श्रीकृष्ण आचार्यका सन्तानमा सामाजिक प्रतिष्ठा बढाएको थियो । विद्वता, भौतिक सम्पन्नता र सामाजिक प्रतिष्ठाप्राप्त यस परिवारमा भानुभक्त आचार्यको बाल्यकालको जीवन सुखद थियो ।
श्रीकृष्णले आफ्ना सबै छोरा र नातिलाई पाँच वर्षमा सरस्वती पूजाका दिन अक्षरारम्भ गराउँथे । भानुभक्तको पनि पाँच वर्ष पुगेपछि माघ महिनाको शुक्ल पक्षमा पर्ने श्रीपञ्चमीका दिन अक्षरारम्भ भयो । श्रीपञ्चमीलाई सरस्वती पूजाको दिन भनिन्छ । त्यो दिन पुरन्डिहीको घरमा वैदिक विधिपूर्वक गणेश र सरस्वतीको पूजा भयो । पूजामा भानुभक्तका बाजे, बज्यै, काकाहरू र काका छोरा दाजुभाइ सम्मिलित भए ।

विद्वता, भौतिक सम्पन्नता र सामाजिक प्रतिष्ठाप्राप्त परिवारमा जन्मेका भानुभक्त आचार्यको बाल्यकाल सुखद थियो

यता, बालक भानुुभक्तलाई बिहानै स्नान गराइयो । बाजेले अह्राएअनुसार उनले खुसी हुँदै पूmल, चन्दन, अक्षताले सरस्वतीको पूजा गरे, बाजेको मुखबाट मन्त्रोच्चारण हुन थाल्यो । भानुभक्तले धूप, दीप, नैवेद्य र दक्षिणा चढाए, अन्त्यमा आरती गरे । अक्षरारम्भ गराउनुपर्ने बालकले मात्र होइन, विद्याका उपासक सबैले सरस्वतीको पूजा गर्छन् । भानुभक्त विद्याउपासकको घरमा जन्मेका थिए । त्यसैले श्रीकृष्णसहित घरका सबैजनाले षोडशोपचारले सरस्वतीको पूजा गरे । पूजा सम्पन्न भयो । सबैले पूजाको नैवेद्य खाए, टीका लगाए । अनि बाजे श्रीकृष्णले भानुभक्तलाई अक्षरारम्भ गराए । नित्यानन्द पन्तले ‘संस्कारदीपक’ भाग दुईमा अक्षरारम्भ गराउँदा अकारदेखि क्षकारसम्मका वर्णहरू लेखी पूजा गरेर तीनपटक वाचन गराउनुपर्ने कुरा उल्लेख गरेका छन् । भानुभक्तलाई त्यसरी नै अक्षरारम्भ गराएको हुनुपर्छ । उनले अक्षराम्भ गरेका सावाँ अक्षरबाहेक एक महिनामा नै संयुक्त अक्षरसमेत चिनेका थिए । अक्षरसँगै सूर्यस्तोत्र पनि मौखिक रूपमा भन्न सक्ने भए । यो स्तोत्र जनकपुरका पौराणिक राजा जनकका गुरु याज्ञवल्क्यद्वारा रचना गरिएको हो । भनिन्छ, यो स्तोत्र उनले बाजेलाई एक सातामा नै कण्ठ सुनाए । आचार्य वंशमा बालकलाई सरस्वती पूजा गरी अक्षर चिनाउने, पूरै अक्षर नचिन्दै गणेश स्तोत्र, सरस्वती स्तोत्र र सूर्यस्तोत्र मौखिक रूपमा कण्ठस्थ गराउने चलन थियो । यस्ता स्तोत्रहरू सबै आचार्यलाई कण्ठ हुन्थे ।

भानुभक्तकालीन नेपालमा मानिसलाई दुःख, कष्ट, अनिष्ट र व्यथा लाग्दा दुर्गा कवच, सप्तशती वा देवीमहात्म्य (चण्डी) र रुद्री पाठ गर्ने चलन थियो । आचार्य वंशमा देवीपूजा र रुद्राभिषेकको चलन पछिसम्म रहेको पाइन्छ । व्रतबन्ध नगर्दै उनले रुद्रीबाहेक सबै पुस्तक पढिसकेका थिए । अमरसिंहले अनुष्टुप छन्दमा लेखेको अमरकोश नामको थेसरस (पर्यायवाची कोश) समेत उनले पढ्न थालेका थिए । आठ वर्षका भानुभक्त आचार्यको वैदिक परम्पराअनुसार व्रतबन्ध भयो । सनातन धर्मअनुसार व्रतबन्धपछि मात्र गुरुकुलमा वटुकको विद्याध्ययन सुरु हुन्छ । श्रीकृष्णको घर गुरुकुलजस्तै थियो । शिक्षाशास्त्रको भाषामा यसलाई ‘पिँडी शिक्षा’ पनि भन्न सकिन्छ । गुरुकुलमा अन्य काकाका छोरा पनि पढ्थे । श्रीकृष्ण घरमा आफ्ना नातिहरूलाई सँगसँगै राखेर पढाउँथे । गाउँका व्रतबन्ध गरेका पौडेल, कोइराला, अज्र्याल, ढुंगाना, पण्डित र रानाभाट थरका अन्य बटुक पनि पढ्न आउँथे ।

भानुभक्तले गुरुकुलमा १२–१३ वर्षको उमेरसम्ममा रुद्री, यजुर्वेद, लघु कौमुदी, संस्कृतका काव्य, पात्रो गन्ने सामान्य ज्योतिषसमेत पढेका थिए । पढ्दापढ्दै उनले शरीरमा कबाट उठ्ने नाम २० वटा हुन्छन् भन्ने कुरा सुने र २० वटा जति नाम (केश, कन्चेट, कुहुनु, कपाल, कलेजो, काखी, करङ, कन्सिरी, कानेगुजी, कुर्कुचा, कटी, कान, कम्मर, कापा, कान्छीऔँलो, काँध, कुम, कन्डो, कोखो र कम्पारो) टिपोट गरे । ती नामलाई मिलाएर शार्दूलविक्रीडित छन्दमा कविता बनाएर सबैलाई सुनाए । यसैलाई नै भानुभक्तको पहिलो कविताभ्यास मानिन्छ ।

श्रीकृष्ण कवि पनि थिए । उनी अवधि मिश्रित नेपाली भाषामा कविता लेख्थे । लोकोपकारका निम्ति गाउँलेका छोराहरू पढाउँथे । वेदान्त दर्शन र भगवान् रामचन्द्रप्रति उनको श्रद्धाभक्ति थियो । प्रारम्भिक अध्ययनकालमा नै भानुभक्तमा बाजेको प्रभाव परेको थियो । तसर्थ, प्रारम्भिक अध्ययन कालदेखि नै भानुभक्तको कवित्व स्फुरण, वेदान्त दर्शनप्रति झुकाव, अध्यात्म रामायण र रामभक्तिप्रति आकर्षण हुनुमा श्रीकृष्ण नै प्रेरणदायी पुरुष देखिन्छन् ।