हङकङ ब्लुज - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

रमेश, मधुसुधन/नयाँ पत्रिका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्किएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गच्छदारलाई कांग्रेस…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हाङयुग अज्ञात   |   जेठ ०४, २०७४

हङकङलाई हिजोआज एसियाको विश्व सहर भनिन्छ । सातै बार, चौबिसै घन्टा जागिरहने यो सहरमा मान्छेहरू जमिनमा, जमिनमुनि र आकाशमा दगुरिरहेका या काम गरिरहेका भेटिन्छन् । कहालीलाग्दो छ यो सहरको उचाइ । विरक्तलाग्दो छ यो सहरको आवाज । काँचका गगनचुम्बी टावरहरूका झ्यालमा बादलहरू खेल्न आउँछन् । त्यहीँनेर चिलले गुँड लगाउँछ । साना–साना चरा यिनै काँचका टावरमा ठोक्किएर मर्छन् । यो कस्तो विकास ? कहिलेकाहीँ आफैँलाई प्रश्न गर्न मन लाग्छ ।


१४ वर्ष भएछ हङकङमा जीवन घिसारेको । १४ वर्षमा त राम पनि वनवासबाट फर्किसकेका थिए । खोला पनि बाह्र वर्षमा त फर्किन्छ भन्छन् । तर, यो सहरको कुन कुनामा अल्झेँ म ? उत्तर खोज्दाखोज्दै धेरैचोटि घडीको अलार्म बजेको छ । कहिले यो सहर माकुराको जालोजस्तो लाग्छ, कहिले उखुको तेल निकाल्ने मेसिनजस्तो लाग्छ । कहिले यो सहर स्वर्गको एक टुक्राजस्तो लाग्छ, कहिले नर्कको खाडलजस्तो लाग्छ । घर हो भनुँ, घर होइन । डेरा हो भनुँ, डेरा होइन । ‘अब फर्किन्छु, अब फर्किन्छु’ भन्दाभन्दै म त हङकङ भइसकेछु । साँच्चै नै कनसिरीमा फुल्न थालेछन् कपाल फूलहरू ।

बिहान काममा जाँदा करिब ८० वर्षकी चिनियाँसित प्रायः भेट हुन्छ । ऊ मजस्तो छिटो हिँड्न सक्दिनन् । भित्तालाई हातले ठेल्दै एक–एक सिँढी होसियारपूर्वक ओर्लिन्छिन् । मलाई काममा पुग्न हतार हुन्छ । मेरो पदचाप सुनेर उनले बाटो दिएर भन्छिन्, ‘शुभप्रभात ! काममा हिँडेको ?’

‘शुभप्रभात !’ भनेर म कुद्छु । यो सहरमा दुःखको नदी भित्रभित्रै बग्छ, जस्तो केआइसिंह पुलमुनि सेती नदी बग्छ । उमेरले ७० कटेका चिनियाँहरू गल्लीमा कार्टुनबक्स, समाचारपत्र र बियरका क्यानहरू बटुलेर बाँचिरहेछन् ।

यहाँको फराकिलो सडक टुंगिएपछि सुरु हुन्छन् साँघुरो मुसा र साङ्ले गल्ली । ती गल्लीका पुराना घरमा बस्छन् ‘पिँजडा–मान्छे’ । चर्को घर भाडा तिर्न नसकेर पाँच फिटको फलामे पिँजडामा बाँकी जीवन बिताइरहेका वृद्ध चिनियाँको व्यथा सुन्ने हृदय छैन हङकङको । बरु रोबोट मान्छेको दुःख देखेर संवेदित हुन सक्ला तर यो सहरलाई सेक्सपियरको त्रासदीले पनि छुँदैन । व्यापारीहरू हरेक महिना नयाँनयाँ ‘फ्लाट’ बजारमा बेच्न राख्छन् । तर, सामान्य श्रमिकको किन्ने हैसियत पुग्दैन । मुख्य भूमिबाट मेन्डेरिनभाषी चिनियाँ आउँछन् झोलाभरि पैसा बोकेर, किन्ने उनीहरूले हुन् ।
यहाँ रेसको घोडा कुद्न सकेन भने मालिकले उसलाई मासुको भाउमा बेच्छ । त्यस्तै कुद्नुपर्छ मान्छेले यो सहरमा बाँच्न । यो कुरो बुझेकी छिन् भ¥याङमा मलाई बाटो छाडिदिने वृद्ध चिनियाँ आमाले । ऊ यो सहरमा कुद्दाकुद्दै नुनजस्तै फुलेकी हुनुपर्छ ।

सहरले थोरै दिन्छ र धेरै त खोस्छ मान्छेबाट । यद्यपि, हामी गाउँलाई सहर बनाउन मरिहत्ते गर्छौं । अब मान्छेले सोच्ने काइदा फेर्नुपर्छ जस्तो लाग्छ मलाई । सभ्यताको मानक सहर हुनुहुँदैन । ठूलाठूला सहरहरू अहिले धुलोमा पुरिएका छन् । सिन्धुघाटीमा आजभन्दा पाँच हजार वर्षअगाडि अस्तित्वमा रहेको मोहेन्जोदारो भन्ने सहर विश्वकै प्रथम मेट्रोपोलिटन सहर थियो । जुन आज खण्डहर भएको छ । सहरले मान्छे हुनुको बोधलाई मार्छ । सहरले मान्छेलाई मेसिन बनाउँछ । अन्तत्वगत्वा सहरले भत्किनुपर्छ । हङकङले पनि भत्किनु छ । मान्छेले सधैँभरि मेसिनको जीवन बाँच्न सक्दैन । मान्छेले मान्छे हुनुको अर्थ बुझेको दिन सहरले गाउँसँग हार्नुपर्छ । किनभने गाउँसँग प्रकृति हुन्छ । मैले बुझेको अन्तिम सत्य प्रकृति हो ।

कवि हाङयुग अज्ञात

मिस्टर चाउ नाम गरेको चिनियाँ बुढो निरन्तर पाँच वर्षदेखि एक्लै विरोध प्रदर्शन गरिरहेछ कर्पोरेटविरुद्ध । उसले किनेको ‘फ्लाट’ मोर्गेज तिर्न नसक्दा ‘प्रोपर्टी डेभलपर’ले खोसिदिएछ । एउटा लामो डन्डामा माओत्सेतुङको फोटो टाल्छ ऊ र नाराहरू लेखेको कागज टाँसेर फाइभ स्टार होटेल र अफिस टावरको ढोकामा उभिन्छ । उसले भिरेको टेपरेकर्डरमा भाषण बजिरहन्छ । होटेल र अफिसको सुरक्षा गार्डले प्रहरी बोलाउँछ । प्रहरी आएर उसलाई ठाना लैजान्छ । प्रहरीसँग ठाना जानुअगाडि ऊ भन्छ, ‘म भोलि पनि आउँछु ।’ एक दिन मैले उसलाई माओत्सेतुङको फोटो देखाउँदै भनेँ, ‘म उसलाई चिन्छु ।’ ऊ खुसी भयो र मलाई ‘कमरेड’ भन्यो । कहिले सफल होला उसको आन्दोलन ? उसको छेउ भएर मान्छेको नदी बग्छ, तर एक थोपा पानीले छुँदैन उसलाई । यो सहरमा मिस्टर चाउ यत्तिकै मरेर जान्छ ।

हङकङ आएको साल समाचारपत्रमा पढेको थिएँ, ‘छोराले बिरामी आमालाई ह्विलचियरमा बाँधेर समुद्रमा फ्याँक्यो ।’ यो समाचारअनुसार क्यान्सरपीडित आमाको उपचार गर्न छोरालाई मुस्किल परेपछि आमाकै इच्छाअनुसार उसले त्यसो गरेको रहेछ । विश्वकै धनी सहरमा यस्ता गरिब पात्रहरू छन्, जसले आर्थिक अभावकै कारण आफ्नै आमाबुवा या छोराछोरी मार्ने गर्छन्, आफँै मर्ने गर्छन् । एउटी आमाले २२ तलाको झ्यालबाट आफ्ना पाँच र सात वर्षकी छोरीलाई फ्याँकेर आफूले पनि हाम्फालेको घटनाले कसको मस्तिष्क हल्लिँदैन होला ? यस्ता घटना यो सहरका लागि सामान्य भइसकेको छ । यो सहरको झिलिमिलीभित्र दुःखको अँध्यारो सुरुङ पनि रहेछ । यो सहरमा हिँड्ने मान्छेका अनुहारमा एक अनौठो उदासी झुन्डिएका हुन्छन् ।

यतिका वर्षमा कुनै चिनियाँ मान्छेलाई दिल खोलेर हाँसेको देखेको छैन मैले । दिल खोलेर हाँस्नेहरू त फिलिपिन्सबाट आएका घरेलु कामदार मात्रै हुन् । आइतबारको बिदा मनाउन उनीहरू हङकङका पार्क, सडक, बार र डिस्को निस्किन्छन्, जहाँ उनीहरू उन्मुक्त भएर हाँस्छन् । मानौँ उनीहरूसँग कुनै दुःख छैन । उनीहरू हाँसेको हेर्न पार्कमा हिँड्दै गरेको बुढो चिनियाँ टक्क उभिन्छ । सोच्दो हो, हामी मालिकभन्दा नोकरहरू कसरी धेरै खुसी हुन सकेका ? बर्खायाम लागेपछि हरेक हप्ता फिलिपिन्समा उनीहरूको घर समुद्री आँधीले उडाइदिन्छ, बाढीले बगाइदिन्छ । यद्यपि, उनीहरू हाँसेकै छन् । दुःखको पोकालाई लुकाएकै छन् । यहीँका स्थानीय चिनियाँहरू सबै कुरा भएर पनि दुःखी छन् । कि बेलायतीहरूले यति सारो दबाए कि उनीहरूले हाँस्न बिर्से ?

चीनबाट ल्याइएका फुटपाथमा उभिएर शरीर बेच्ने महिलाहरूको कथा हामीले सोचेको भन्दा बेगल हुन सक्छ । चीन विश्वको महाशक्ति बन्ने क्रममा छ, तर चीनबाट ल्याइएका महिलाबाट चल्ने गरेको छ हङकङको अवैधानिक ‘सेक्स टुरिजम’ । यस्ता महिला भियतनाम, फिलिपिन्स र थाइल्यान्डबाट पनि ओसारिन्छन् । रेस्टुरेन्ट या क्लबमा काम गर्न भनेर ६ महिनाको भिसामा ल्याई ‘सेक्स वर्कर’का रूपमा प्रयोग गरिन्छन् । यस्ता पार्टटाइम सेक्स वर्करहरूको व्यथा भिन्दै छ । अघोषित रेडलाइट एरियामा घरीघरी प्रहरीले छापा मारेजस्तो गर्छ । तर, यो पूरै बन्द गर्न चाहँदैन । बर्सेनि लाखौँलाख टुरिस्ट हङकङका गगनचुम्बी टावर हेर्न मात्र कहाँ आउने गर्छन् र ?

दलाललाई हजारौँ डलर तिरेर चीनबाट भिखारीहरूसमेत हङकङ छिर्दा रहेछन् । दलालले हङकङ छिराएपछि अंगभंग भएका भिखारीहरू बाटोमा माग्न बस्छन् । तब उनीहरूलाई हङकङ सरकारले टिपेर ‘केयर सेन्टर’मा राख्दोरहेछ । यति भए उनीहरूको बाँकी जीवन आनन्दले बित्ने भो ।
यहाँ आ–आफ्नै सपना बोकेर आउँछन् मान्छेहरू । पार्टटाइम सेक्स वर्करको पनि आफ्नै सपना हुँदोरहेछ । लोकहार्ट रोडको क्लब लाइनमा भेटिएका थाइल्यान्डबाट ल्याइएका यस्ता सेक्स वर्करको सपना अनौठा हुने गर्छन् । एउटीको सपना थियो, ६ महिनामा कमाएको पैसाले सिलिकन हालेर स्तनलाई गोलो र ठूलो बनाउने । यस्तो पनि सपना हुन्छ र ? मैले सोचेँ । अर्कीको सपना थियो, बैंककमा आफ्नै मसाज सेन्टर खोल्ने । यस्तै सपना उब्जाएर हङकङको अर्को पाटो आफ्नै तालमा हिँडिरहेछ ।

मलाई लाग्छ हङकङको समुद्रको नीलो पानी मान्छेहरूको आँसु र पसिना मिसिएर झनै नुनिलो भएको हुनुपर्छ । बेलायतको भूत बोकेको ट्राम गाडीले ब्लुजको लय निकाल्दै सय वर्षदेखि हङकङ टापुमा कुदिरहेको छ । यो सहरको अर्केस्ट्रामा एम्बुलेन्स र दमकलले डिमाइनरमा भायोलिन बजाइरहेछन् । जब म समयको ऐनाअगाडि उभिन्छु, तब आफँैलाई भारी बोकेर जवानी बिताएको गधाजस्तो देख्दछु । दुई टापुलाई जोड्ने पुल त बनाएँ, तर त्यहाँ आफ्नो नाम लेख्नै भुलेँछु । मैले बनाएको चेक्लापकोक विमानस्थलमा विश्वभरिबाट हवाईजहाजहरू आउँछन् र फर्किन्छन् । तर, मलाई आफ्नो देश फर्काएर लैजाने हवाईजहाज यो विमानस्थलमा अहिलेसम्म आइपुगेन । बैरागी काइँलादेखि श्रवण मुकारुङ, भूपाल राईदेखि व्याकुल माइला सबैसबै हङकङ आएर गए ।

तर, उनीहरूले हङकङ ब्लुज नसुनी गए । झलकमान गन्धर्वले सोधे भनिदिनु– अनुहारका चाउरीमा एक–एक साल बितेको चिह्न लगाउँदै रबिन्सन क्रुसोजस्तो बाँचिरहेछ एउटा कवि हङकङ टापुमा ।
सायद यस्ता कुराको साक्षी बसिदिनलाई म यो सहरमा अल्झिबसेको हुँ । कि म पनि यो सहरको पुर्जा भइसकेँ ? कि यो सहरबाट उम्किनलाई मसँग कुनै इच्छाशक्ति छैन ? यद्यपि, मलाई लाग्छ आफ्नो देशभन्दा पर कुनै पनि कविले मर्नुहुँदैन ।