अरूका जुत्ता टल्काउने केन्द्रीय नेता
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख २९, २०७४

फलानो केन्द्रीय नेता । परिचयलगत्तै ऊबारे सोच्न थालिन्छ, चन्दा माग्दो हो, हाइमस्ती जिन्दगी जिउँदो हो । पैसा र पावरको सुर्ता रहेन, ८–१० जना कार्यकर्ता अघिपछि लाउँदो हो । आसेपासेलाई भनसुनमा जागिर पनि खुवाउँदो हो । नेपालको राजनीति डोहोर्याउने नेताको गति यस्तै–यस्तै त छ । तर, आज कथा फरक छ । पात्र हुन्, केन्द्रीयस्तरका एक नेता सेवलराम चमार । नयाँ पत्रिकाका विश्वास खड्काथोकीले यथार्थ कथा उतारेका छन् :

दुई दशक भयो, सेवलराम राजनीतिमा होमिएको । अधिकारका लागि उनको पाइलाले राजनीति रोजेको थियो । २० वर्षको राजनीतिक यात्रामा उनले कयौँ सेमिनारमा मुक्तिकामी भाषण दिए, आन्दोलनको मोर्चाबाट जेलको छिँडीमा पनि पुर्याइए । यही अवधिमा थुप्रै नेतासँग संगत गरे, उठबसमा उनीहरूको नाडी छामे, चरित्र बुझे । राजनीतिक भर्याङ पनि उक्लिने मौका मिल्यो । नेपाल सद्भावना पार्टीको केन्द्रीय सदस्य भए, दलित गैरसरकारी संस्थाको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाए । ठूला दलसम्मिलित संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजक पनि भए । उनकै भाषा उतार्दा, लामो संघर्ष गरे र संघर्षकै मैदानमा छन् । महोत्तरी सुन्दरपुरका चमार (दलित) समुदायका सेवलराम भन्छन्, ‘बाटोमुनिका फूलहरूको उद्धार गर्न राजनीतिक लडाइँमा होमिएको हुँ ।’

तर, सेवलरामको पेसा राजनीति मात्रै रहेनछ । जब उनको असली इलम थाहा पाएँ, कौतुहल जाग्यो । अनि पुगेँ, बागबजारमा साइनबोर्डविना चलिरहेको एउटा जुत्ता पसलमा । मेरो मनमा साइनबोर्ड खडा भयो, ‘नेताको जुत्ता मर्मत पसल ।’

०००
सडकछेउमा जुत्ता मर्मतका कच्चापदार्थ छन् । विभिन्न ‘भेराइटी’का तुना, सोल, ब्रस, पालिस, सुपरग्लु, कैँची, छाला, धागो, सियो…यस्तै, यस्तै । बिग्रिएका छाताका करङ मुठो पारेर आडैमा राखिएको छ । सेतो कमिज र कालो पाइन्टमा ठाँटिएको सेवलरामको मेरुदण्डले भित्ताको आड लिएको छ अनि भुइँमा ओछ्याइएको बोरामा बसेर टल्काइरहेछन् खैरो जुत्ता । २५ वर्षदेखि ग्राहकका खुइलिएका जुत्तामा रङ भर्दै आएका उनको जीवनको रङ भने खुइलिँदै गएको छ । ५० वर्षका सेवलराम अरूका जुत्ता सिलाएर या टल्काएर आफू र परिवार धानिरहेका छन् ।

‘नेता भएर जुत्ता सिलाउन धक लाग्दो हो नि ?’ मनले होइन, समाजको चरित्र मेरो मुखबाट फुत्कियो । प्रश्न खस्न नपाउँदै जुत्तामा कुदिरहेको सेवलरामको ब्रस रोकियो । सेता दाँत र घुर्मैला गिजा देखाउँदै उनी मधेसी–नेपाली लवजमा बोल्न थाले, ‘हामी सीपको धनी हो । मैले काम मात्र होइन, समाजसेवा पनि गरिरहेछु । पेसालाई आधार बनाएर सानो–ठूलो भन्नुहुँदैन । सबै मानिसलाई समान रूपले हेर्नुपर्छ ।’ उनको ‘हिटलर कट्’ जुँगा चल्न अझै रोकिँदैन, ‘आफ्नो काम गर्नलाई पनि लाज मान्नुपर्छ र ?’

उनको जवाफमा विद्रोह भेटियो । कामको अपमान गर्नेविरुद्धको विद्रोह । श्रमलाई घृणा गर्ने समाजको सडकमा बसेर श्रमप्रति सम्मानको पाठ सिकाइरहेछन्, सेवलराम ।

कुराकानी रोक्नेगरी छिमेकी जुत्तावाला चिच्याए, ‘यो गरेर (पत्रिकामा बोलेर) हामीलाई फाइदा हुन्छ कि बेफाइदा सर ? तपाईंले लेख्नुभयो भने हामीलाई यहाँबाट उठाएर पठाउँछ होला नि ! अनि हामीले के गरेर खाने ?’

मेरो शब्दकोशमा उत्तर थिएन । चुपचाप म देखेर सेवलराम आफैँ बोले, ‘सरकारले यसलाई आधुनिकीकरण गर्नुपर्छ । काठमाडौंमा दुई हजारभन्दा बढीले सडकमा जुत्ता सिलाइरहेका छन् । उनीहरूलाई व्यवस्थित गर्नुपर्छ । यसका लागि मैले पटकपटक पार्टीमा कुरा उठाइरहेको छु ।’

अबचाहिँ सेवलराममा नेताको गन्ध आउन थाल्यो । मलाई नेता र जुत्ता सिलाउने पेसाको ‘क्लाइमेक्स’मा छिर्नु थियो । किनभने एकातिर जुत्ता सिएर परिवारको हातमुख जोडिरहेका, अर्कोतिर उत्पीडित समुदाय उकास्ने सपना बोकेर राजनीति पनि गरिरहेको व्यक्तिसामु थिएँ म । जुत्ताको फोहोर फ्याँकेजस्तो सजिलो छ र समाजको फोहोर फाल्न ?

प्रश्नमा सेवलरामको नेता प्रवृत्ति हावी हुन्छ, ‘हुन त हरेक मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ । तर, मलाई लाग्छ राजनीतिमा आबद्ध नभइकन उसले केही पनि बुझ्दैन । कहाँ कसरी के भइरहेछ भन्ने कुराको जानकारी कम हुन्छ । अझ म त निकै पछि परेको समुदायको मान्छे । परिवर्तनका लागि हामीले संघर्ष नगरे कसले गर्ने ? हामी नलागे को लाग्ने ? म समाजबाट पछि पारिएका समुदायका आर्थिक, शैक्षिक र सामाजिक अवस्थालाई माथि ल्याउनको लागि लाग्छु ।’ उसो त उनले परिवर्तन परिवारबाटै सुरु गरेका छन् । जुत्ता सिएरै जेठो छोरालाई कमर्समा स्नातकोत्तरसम्म पढाएका रहेछन् भने कान्छो छोरो एसइई सकाएर ब्रिज कोर्स गर्दै छन् ।


हाम्रो सवाल जवाफलाई एक युवतीले चिरिन् । उनी फिता चुँडिएको ब्याग बोकेर सेवलरामसामु छिन् । सेवलराम भने उनीसँग होइन, मसँगै केन्द्रित छन् । युवती कुर्न तयार छैनन् । फटाफट आफ्नो काम सकेर गन्तव्य पुग्न चाहन्छिन् । र त ठाडो वचन गरिन्, ‘छिटो गरिदिनुस् न, ढिला भैरा’छ क्या !’

मसँग बोलेर सेवलरामको जीविका चल्दैन, मलाई थाहा छ । त्यसैले उनका आफ्ना भनेका ग्राहक नै हुन् । हतार–हतार कुरुस र धागो निकाल्छन्, ब्यागमा धागो उन्दै कमाइ सुनिश्चित गर्छन् । अनि मलाई समेट्न तम्सिन्छन् । औँला ब्यागमा दौडाएर दिमाग मतिर लगाउँछन् । अनि ,जीवनकथा सुनाउन थाल्छन् ।

‘गरिब परिवारमा जन्मिएँ । आठ कक्षासम्म पढेँ । अझै धेरै पढ्ने रहर थियो, तर परिस्थितिले दिएन । परिस्थितिले कहिलेकाहीँ हजार रहरहरूलाई जिउँदै जलाइदिँदो रहेछ,’ उनी बोल्दै गए, ‘६ कक्षामा पढ्दा बुबालाई प्यारालाइसिस भयो । परिवार पाल्ने बुबा ओछ्यान परेपछि जिम्मेवारी मेरो काँधमा आइपुग्यो । दुई वर्षसम्म स्कुल जाँदै बुबाको सेवामा लागेँ । तर, पैसाको अभाव भएपछि १५ वर्षको उमेरमा मजदुरी गर्न भारतको पन्जाब हानिएँ । बुबा बचाउन पन्जाबमा पसिना बगाउँदै थिएँ, तर एक वर्षमै उँड्यो उहाँको परान पखेरु । जीवनको अन्तिम क्षणमा बुबाको अनुहार हेर्न पनि पाइनँ ।’

सेवलरामको अनुहारमा बादल पोतिन्छ । सायद, मनमा पानी परिसकेको हुन्छ । तर, छेवैबाट धुवाँ पुत्याउँदै हुँइकिने गाडीले परिस्थिति बदल्छ । धुलो छेक्न नाक–मुख थुनेको हात छोड्दै फेरि गफगाफ सुरु हुन्छ ।

‘केही वर्षको पन्जाब बसाइपछि घरै फर्किएँ । त्यसैवेला एक साथीले काठमाडौंको आशा देखाए । २५ वर्षअघि बागबजारको एउटा गल्लीमा जुत्ता सिलाउने, ग्यास, स्टोभ र छाता बनाउने काम गर्न थालेँ । यो जीविकाको सवाल थियो । तर, काठमाडौं छिरेसँगै ममा राजनीति पनि छिर्यो,’ सेवलराम भन्छन्, ‘नेपाल सद्भावना पार्टीको सदस्यता लिएँ । जुनबेला गजेन्द्रनारायण सिंह पार्टी अध्यक्ष थिए । वर्षौंदेखि उत्पीडन भोगेको मलाई उत्पीडन निमिट्यान्न पार्नु थियो । र, समाजमा सबै मान्छेसरह भएर बाँच्नु थियो । त्यसैले संघर्षमा होमिएको थिएँ ।’

०००
जिन्दगी सधँै सरल रेखामा कहाँ बग्छ र ? ०५९ साल असार मसान्तका दिन सेवलरामको जिन्दगीमा भुइँचालो आएछ । जुत्ता सिलाइरहेका उनलाई एउटा टेलिफोन सम्वादले मर्माहत बनाएछ । ‘जुत्ता मर्मत पेसामै रमाइरहेको थिएँ, काठमाडौंमा । बिहानै आफ्नो सडक क्षेत्रमा पुग्थेँ र साँझ ६ बजेतिर डेरामा फर्किन्थेँ । साँझ राजनीतिक पुस्तक पढ्थेँ । राजनीतिक कार्यक्रम भएको दिन झोलाका सामान एकातिर थन्काएर छाडिदिन्थेँ । तर, असार मसान्तको त्यो दिन जीवनमा ठूलै प्रहार भयो,’ उनी सुनाउँछन्, ‘बाढीले घरखेत बगाएको खबर श्रीमतीले सुनाएपछि थामिन गाह्रो भयो । हतार–हतार घरतिर हानिएँ । घर पुगेपछि आफ्नै आँखाले बिजोग देखेँ । ‘सोचेजस्तो हुन्न जीवन’ भन्ने गीत आफ्नै लागि गाइदिएझैँ लाग्यो । १५–१६ कठ्ठा जमिन र घर बगरमा बदलिएपछि त मेरो बिजोग भयो ।’

तर, त्यहाँ सेवलरामको मात्रै होइन, तीन सय घर र कयौँ बिघा जमिन बगर भएको थियो । उनी सम्झिँदै जान्छन्, ‘त्यो पीडामा सरकारले अलिकति पनि मलम लगाएन । मेरै पहलमा काठमाडौंबाट राहत संकलन गरेर पनि बाड्यौँ । हामीले पहल गरेपछि रेडक्रसले ४७ वटा घर बनाइदिएको थियो ।’

बाढीसँगै सेवलरामको जीवनमा नयाँ मोड आयो । भन्छन्, भाइलाई कतार पठाएँ, अहिले पनि उतै छ । दुःखजिलो गरेर अहिले घरखेत जोडेको छु । खान बस्न पुगेको छ । ५–६ कट्ठा जमिन छ ।’


सेवलरामको जीवनमा धेरै उतारचढाव आए । तर, आफ्नो पेसा त्यागेनन् उनले । उनलाई न त राजनीतिको धित मरेको छ न त पेसाकै । फुर्तीसाथ भन्छन्, ‘राजनीति र जुत्ता सिलाउने पेसा कहिल्यै छाड्दिनँ । यी दुवै समाजका लागि आन्दोलन हुन् । म संघर्षमै छु ।’

कहिलेकाहीँ उनको राजनीतिक संघर्षले पेसागत संघर्षलाई ‘ओभरल्याप’ गर्दो रहेछ । उदाहरण हो, ०६२-६३ सालको जनआन्दोलन । जतिवेला डेढ महिना उनी बस्ने सडक खाली बन्यो । १० दिन त उनी जेल नै परे । स्मरण गर्छन्, ‘हामी आन्दोलन गर्दै माइतीघरबाट वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ जाँदै थियौँ । त्यतिवेला थुप्रै नेतासहित मलाई पनि प्रहरीले पक्राउ गर्यो । पुर्जी त ५० दिनको थियो, पछि १० दिनमै छाडिदियो ।’

सेवलरामको धाराप्रवाह नरोकिँदै एक युवा बुट लिएर आइपुग्छन्, चेन राख्न । पोलिस पनि टल्काइदिन भन्छन् । मैले सेवलरामलाई धेरै अल्मल्याउन चाहिनँ । सबै हतारमा देखिने काठमाडौंमा ती युवक पनि हतारमा देखिन्छन् । सेवलराम पनि कामको हतारमै छन् । अझै बाँकी रहेका केही थान प्रश्न थाती राख्दै व्यस्त सडकका व्यस्त मान्छेहरूसँगै म पनि व्यस्तजस्तै गरी त्यहाँबाट पाइला चालेँ । तर, एउटा प्रश्न बोकेर, ‘सेवलरामले सोचेजस्तै यो देशले किन श्रमलाई सम्मान गर्दैन ?’