विप्रेषणमाथि अधिक निर्भरताको जोखिम - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकार बर्गर नेपालमा हिजोआज निकै रुचाइएको पाइन्छ । भेज र ननभेज दुवै फ्लेवरमा बर्गर तयार पार्न सकिन्छ । प्रायः रेस्टुरेन्टमा खाइने बर्गर घरमै पनि बनाउन…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दुनबहादुर बुढाथोकी   |   बैशाख ०८, २०७४

विप्रेषण ! जसको भरमा अर्थतन्त्रमा रक्त सञ्चार भइरहेको छ । वैदेशिक रोजगार ! जुन विप्रेषण भित्राउने गतिलो माध्यम हो । नेपाली कामदार ! जो थ्रिडी अर्थात् डर्टी, डेन्जर र डिफल्ट कार्य गर्न किञ्चित धक मान्दैनन् । त्यसो त विप्रेषण नेपालको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ । जिडिपीको आधारमा विप्रेषण भित्राउने मुलुकको कोटीमा नेपाल पाँचौँ स्थानमा छ । विप्रेषण, ०६८-६९ मा तीन खर्ब १५ अर्ब भित्रिएकोमा ०७२-७३ मा यो आँकडा ६ खर्ब ७९ अर्ब पुगेको छ । भारत र अनौपचारिक क्षेत्रबाट भित्रिने विप्रेषणसमेत हिसाब गर्दा यो सात खर्बभन्दा बढी हुन्छ, जुन औसत दैनिक एक अर्ब ९१ करोडको आँकडा हो । ०७२-७३ मा भित्रिएको विप्रेषण जिडिपीसँगको अनुपात ३२.१ प्रतिशत छ । जुन सोही वर्षको बजेटको ८१.२० प्रतिशत र राजस्व आयको १३७ प्रतिशत हो । तथापि, कुल कामदारमध्ये अदक्ष तथा अर्धदक्ष कामदारको हिस्सा भीमकाय छ । जहाँ, दक्ष एक प्रतिशत, अर्धदक्ष २५ प्रतिशत र अदक्ष ७४ प्रतिशत बाहिरिएका छन् ।

विप्रेषणबाट प्राप्त हुने आयको वृद्धिदर पछिल्ला दिनमा घट्दो क्रममा छ । ०६५-६६ मा ४७ प्रतिशतले वृद्धि भएको विप्रेषण आय ०७१-७२ मा १३.६ प्रतिशत र ०७२-७३ मा १० प्रतिशतले वृद्धि भएको छ । तथापि, ०६५-६६ मा विप्रेषण आय जिडिपीको २१.२ प्रतिशत रहेकोमा ०७२-७३ मा ३२.१ प्रतिशत पुगेको छ । प्रस्तुत आँकडाबाट बुझ्न सकिने कुरा भनेको नेपाल विप्रेषणको आयमाथि अन्धाधुन्ध निर्भर बन्दो छ भन्ने नै हो । जब कि विप्रेषण दीर्घकालीन आर्थिक स्वास्थ्यका लागि हितबर्धक हुन सक्दैन ।

त्यसो त दुई दशकयता नेपालको अर्थतन्त्रमा मूलभूत परिवर्तन भएको छैन । तैपनि गरिबी दिनानुदिन घटिरहेको छ । ०५२-५३ ताका ४२ प्रतिशत रहेको गरिबी, ०६७-६८ मा २५.१६ प्रतिशत हुँदै ०७१-७२ मा २३.८२ प्रतिशतमा ओर्लिएको छ । गरिबी घट्नु वस्तुतः विप्रेषणकै कमाल हो । केही वर्षअघिको विश्व मन्दीले असर गर्न नसक्नुमा पनि विप्रेषणकै हात रहेको थियो । परन्तु, विप्रेषणको उपयोग उत्पादनमूलक क्षेत्रमा अत्यन्त न्यून हुँदा आर्थिक वृद्धिमा भने टेवा पुग्न सकेको छैन । पछिल्लो एक दशकको औसत आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र हुनुले यो पुष्टि हुन्छ ।

मनग्य विप्रेषण भित्रिएकोमा शंका गर्ने स्थान छैन । तर, गाँठी कुरा विप्रेषण भित्रिनु ठूलो होइन । खाँटी कुरा त विप्रेषणको उपयोग के, कति, कहाँ र कसरी गरियो भन्ने हो । वार्षिक ६ खर्ब ७९ अर्ब भनेको थोरै राशी होइन । ठिकै छ, पुरै राशी बचत गर्न नसकिएला, मानिलिऊँ ५० प्रतिशतचाहिँ उपभोगमै सिध्याइएला, बाँकी ५० प्रतिशत भनेको ३.४० खर्ब हो । सो ३.४० खर्ब भन्नु थोरैतिनो रकम होइन । सो ३.४० खर्बको अवसर लागत (अपर्चुनिटी कस्ट) प्रतिमेगावाट सरदर २० करोडका दरले १७ सय हजार मेगावाट जलविद्युत् वा प्रतिकिलोमिटर सरदर दुई करोडका दरले १७ हजार किलोमिटर पक्की सडक अथवा प्रतिकिलोमिटर सरदर १० करोडका दरले तीन हजार चार सय किलोमिटर रेल्वे लाइन निर्माण गर्न सकिने राशी हो । यहाँनेर चिन्ता गर्नुपर्ने विषय भनेको विप्रेषणको समुचित उपयोग भइरहेको छ वा छैन, विपे्रषणको प्रयोग जलविद्युत्, सुरुङमार्ग, रेल्वे वा यस्तै उत्पादनमूलक क्षेत्रमा भयो वा भएन भन्ने हो । तर, दुर्भाग्यको कुरा यी र यस्ता क्षेत्रमा विपे्रषणको किमार्थ सदुपयोग हुन सकेको छैन । पछिल्लो जीवनस्तर सर्वेक्षणले विप्रेषणको ७९ प्रतिशत उपभोगमा, सात प्रतिशत ऋण भुक्तानीमा र बाँकी शिक्षा, स्वास्थ्यमा खर्चिने गरिएको देखाएको छ । कुल विप्रेषणको दुई प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा उपयोग हुन सकेको छ । जब कि घरजग्गा, जमिन, सुन, टिभी, फ्रिज, कारमा खर्र्चिएको रकमले न त राष्ट्रिय उत्पादन वृद्धि गर्छ, न त आयात प्रतिस्थापन नै ।

दैनिक १५ सय हाराहारीमा युवा पलायन हुँदा उनीहरूबाट औसत दैनिक १.८६ अर्ब भित्रिरहेको, साँचो हो । अब प्रश्न उठ्छ, कि वैदेशिक रोजगार श्रमशक्ति थेग्ने अजरअमर औजार हुन सक्छ ? सवाल यो पनि उठ्छ कि विप्रेषण मुलुकको आर्थिक स्वास्थ्य तन्दुरुस्त राख्ने अचुक उपाय हुन सक्छ ? अथवा विप्रेषणबाट उद्योगधन्दा, कलकारखाना, जलविद्युत्, रेल्वे, सुरुङमार्ग निर्माण हुन सक्छ ? भए गरेका नजिर छन् ? उत्तर हो– वैदेशिक रोजगार श्रमबजारमा ओइरिने साढे चार लाख श्रमशक्तिलाई थेग्ने औजार हुन सक्दैन । विप्रेषणद्वारा आर्थिक स्वास्थ्य दीर्घकालसम्म हृष्टपुष्ट र निरोगी राख्न पनि सकिँदैन । विप्रेषणको बलबुतामा कुनै मुलुकमा उद्योगधन्दा, कलकारखाना, जलविद्युत् आयोजना सायदै मौलाएका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन, रहन पनि सक्दैन । यसको आशय मानवपुँजी निर्यात र विप्रेषण आय केबल अड्को पड्को तेलको धूप मात्र हुन सक्छ । न कि आर्थिक स्वास्थ्य तन्दुरुस्त पार्ने दीर्घकालीन हतियार ! यहाँनेर भुल्नै नहुने कुरा भनेको, हामीले विदेशमा श्रम मात्र बेचिरहेका छैनौँ, बरु स्वाभिमान र सम्मानसमेत लिलाम गरिरहेका छौँ ! जब कि बेच्नुपर्नेचाहिँ सीप र हाम्रो बौद्धिकता हो । हामीले यो बुझिरहेका छैनौँ कि मानवपुँजी निर्यात गरेर दुनियाँमा कोही समृद्ध भएका छैनन् र हामी पनि समृद्ध बन्न सक्दैनौँ । यसर्थ, बर्सेनि पौने सात खर्ब विप्रेषण भित्रायौँ, एक सय १० मुलुकमा जनशक्ति पठायौँ भनेर नाक फुलाउनुको अलावा हाम्रो अर्थतन्त्र कतै कुबाटोमा हिँडिरहेको त छैन ? कथंकदाचित वैदेशिक रोजगारका ढोका बन्द हुन गए भने हाम्रो अर्थतन्त्र भीषण अन्योलमा पर्ने त होइन ? एकपटक सोच्नु आवश्यक छ ।

(बुढाथोकी नेपाल टेलिकमका व्यापार अधिकृत हुन्)