logo

bar

कथा : म उन्नाइस, ऊ चौंतीस

फुर्बान रायमाझी काठमाडौं | माघ १९, २०७३

आइए पास गरेँ, कमर्सबाट ।
बिकम कसरी पढ्ने होला भनेर दिक्क मान्दै थिएँ । रहरले पढेको कमर्स, बल्लबल्ल १२ सकाएपछि निल्नु न ओकल्नुजस्तो हुँदै थियो । बैंकर भएर टाइसुटको जिन्दगी बाँच्ने रहरले कहिलेकाहीँ पढ्नुपर्छ झैँ लाग्थ्यो । घरकी जेठी छोरी, बेलैमा जागिर खाने रहर पनि उत्तिकै थियो ।

एक साँझ घरमा पाहुना आए । भर्खर बिकम भर्ना हुँदाको महिना । कोठामा किताबको चाङ थियो । घरको खर्च धान्न धौधौ बाको कमाइले किनेका किताबको बिल हेर्दा रुन मन लाग्थ्यो । पढ्न उस्तै अल्छी लाग्थ्यो ।

म कोठामा बसेर किताबका पाना पल्टाएर केके सोच्दै थिएँ । आमाले खाना खान बोलाउनुभयो । भान्साकोठामा झन्डै बा जस्तै देखिने एउटा पुरुष र अलि पाको उमेरका मामाघरका हजुरबा, बासँगै बसेर खाना खाँदै थिए । म बाको आडमा छेकिएर पिर्कामा बसेँ । त्यो नौलो मान्छेसँग आँखा जुध्यो, म डराएँ, बाको छायामा छेकिएर हतार–हतार खान्की सिध्याएर उठेँ ।

झुसे दाह्री पालेको, अलि पातलो, अलि फोहोरीजस्तै त्यो मान्छेले लगातार हेरिरह्यो । म राति त्यही सम्झेर धेरैबेर निदाइनँ । बिहान सबेरै उठेर भान्सामा चिया पिउँदै थियाैँ हामी । फेरि त्यही झुसे दाह्रीवाला मान्छे अघिल्तिर देखियो । बाआमा गुनगुन गरेर के बोले मेसो पाइनँ । म बसौँ कि उठौँ झैँ लागेर आत्तिएँ । मावलका हजुरबा लहरे खोकी खोक्दै भित्र पसे, उनी अलि बोलक्कड छन् ।
‘नातिनी, तिम्रो बिहेको कुरा लिएर आएको ?’ हजुरबाले मलाई फ्याट्ट भने ।
म आमातिर फर्केर रुनु न हाँस्नु भएँ, आमा त मुस्कुराइन् ।
म बातिर फर्केँ । ‘छोरी सानै छे,’ भन्लान् ठानेर रुन्चे अनुहार देखाएँ । बा पनि मुस्कुराएको देखेँ । म लाजले रातोपिरो भएँ । कोठातिर दौडिएँ ।
आमा कोठामा आइन् ।
‘छोरी, तिमी अब ठुली भयौ, तिम्रो बिहे गर्ने उमेर भइसक्यो, यो केटा कस्तो छ ? तिमीले भन्नुपर्छ,’ आमा फतफताइन् ।
मेरो जिन्दगीको पहिलो अनुभव, आमाबाबुलाई आफ्नो सन्तान ठूलो लागेको दिन म लाज, डर र रिसले पागलजस्ती भएँ । मलाई त्यो केटा पटक्कै राम्रो लागेन । मेरो १८ वर्षे उमेर सम्झेँ । मेरा बाजस्तै देखिने केटो श्रीमान् कसरी हुन सक्छ ? मेरा साथीलाई मेरो श्रीमान् भनेर कसरी परिचय गराऊँ ? दिमागमा यस्तै हजार प्रश्न थपिए ।
आमा फेरि बोलिन्, ‘राम्रो परिवार छ, युरोपको कार्डवाला केटा, हामीलाई त राम्रै लाग्यो ।’
म आमाको आवाज सुनिरहेँ ।
‘तेरो अरू कोही केटा छ ? किन बोल्दिनस् ?’ आमाले थपिन् ।
‘म बिहे गर्दिनँ,’ म लगभग चिच्याएको आवाजमा बोलेँ ।
आमाले यत्तिकै छाड्नेवाला थिइनन् । ‘हेर् छोरी, बिहेपछि तँलाई नि युरोप लैजाने रे, नेपालमा बस्नु पर्दैन, विचार गर्, तँसँगैका रमा र उर्मिलाहरू बिहे गरेर जापान, अस्ट्रेलिया पुगिसके, अहिले उनीहरूको जिन्दगी हेर् त ।’
आमा फतफताउदै बाहिर निस्किन् ।
रमा र उर्मिलालाई सम्झिएँ । उनीहरूको विगत र वर्तमान सम्झिएँ । फेसबुकमा उनीहरूको फोटो देखेर सधैँ डाह गर्ने म झन् छट्पटिएँ । कोठाको झ्यालबाट पुर्लुक्क बाहिर चिहाएँ । बैठक कोठामा बसेर गफिएको जुँगे केटाको अनुहार सम्झिएँ । जुँगा र कपाल काटेपछि उ कस्तो देखिन्छ भनेर कल्पना गरेँ । ऊ मेरो दिमागमा आएर मुस्कुरायो । त्यतिवेला अलि ठिटो देखियो । बिहेको दिनमा ऊ कस्तो देखिन्छ भनेर फेरि कल्पना गरेँ । अब ऊ सुन्दर देखियो । उसका हातहरूले मेरो सिउँदो भरिएको कल्पना गरेँ, अनि म लाजले एक्लै मुस्कुराएँ ।
फेरि आमा आइन् । आइदिए हुन्थ्यो झैँ लागेको थियो, त्यस्तै भयो ।
‘तिमीसँग गफ गर्छु भनेको छ ।’ यतिवेला भने आमाले मनकै कुरो बोलिन् ।
म लाजले रातोपिरो भएँ । हुन्छ भन्ने संकेत गर्न टाउको हल्लाएँ ।
ऊ कोठाभित्र आयो । म खाटको एक छेउमा, ऊ अर्काे छेउमा । लाज र डरले भुइँतिर फर्केकी थिएँ । ऊ ट्वालट्वाल्ती मेरै अनुहारमा हेरिरहेको थियो । ऊ केही बोलोस् र म बोल्छु भन्दै पालो पर्खें । ऊ केहीबेर बोल्दै बोलेन । म पनि बोल्न सकिनँ ।
‘के सोच्दै छौ ?’ ऊ अचानक काप्दै बोल्यो ।
म ऊतिर पुर्लुक्क हेरेर फेरि भुइँतिरै फर्किएँ ।
फेरि बोल्यो, ‘बिहे गर्ने विषयमा के सोच्यौ ?’
म उसको प्रश्नको के उत्तर दिऊँ झैँ भएँ । डराएँ । लजाएँ पनि । ‘हुन्छ, म बिहे गर्छु’ भन्दिऊँ झैँ लाग्यो, तर बोली आएन ।
‘म सोचेर हजुरलाई खबर गर्छु,’ यत्ति त बोल्न सकेँ ।
‘हुन्छ, मलाई तिमी राम्री लाग्यो, तिमीलाई भेटेर खुसी पनि लाग्यो, बिहेजस्तो विषयमा सोचेर निर्णय गर्दा राम्रो हुन्छ,’ ऊ यति भनेर निस्कियो ।
मलाई उसका शब्दहरू प्रिय र आत्मीय लागे । कति मीठो आवाज, मनभित्रभित्रै पुगेर तरंगित भएँ ।

ऊसँग थप बोल्न नसकेकोमा पछुतो लाग्यो । फेरि झ्यालबाट चिहाएँ । केहीबेरमा उनीहरू गए । जाने वेलामा केटोले मेरो झ्यालतिर बारम्बार हेरिरह्यो । मलाई उसको माया लागेर आयो ।

त्यो साँझ फेरि रमा र उर्मिलाको फेसबुक खोलेर हेरेँ । उनीहरू उभिएको समुद्रछेउमा आफू उभिएको कल्पना गरेँ । उनीहरूले लगाएको मिनिस्कट र बिकिनी आफूले लगाएर फोटो खिचेको सम्झेँ । उनीहरू रमाएको देखेर आफ्नो दिनरात दिमाग चाट्ने कमर्सका मोटामोटा किताबको दिक्दारी सम्झेँ । बल्लबल्ल आइकम पास गर्दाको कठिनाइ सम्झिएँ । यी सब चिज सम्झिँदै गर्दा बा जस्तो देखिएको केटाको अनुहार बिर्सेर बिहे गर्ने निर्णय गरेँ ।

त्यो रात पटक्कै निद्रा लागेन । पढ्न त झन् मनै लागेन । गुगल खोलेर परिपक्व पुरुषसँग बिहे गर्दा के फाइदा हुन्छ भन्ने विषयका लेखहरू पढेँ । थुप्रै सेल्फी फोटो खिचेँ । ऐना हेरेर धेरैपटक मुस्कुराएँ । इन्टरनेटमा युरोपका सहरहरूको फोटो र भिडियो हेरेँ । बिहान कलेज जान जाँगर चलेन । अब किन पढ्नु भने जस्तो लाग्न थालिहाल्यो ।

साँझ एउटा नयाँ फ्रेन्ड रिक्वेस्ट आयो, फेसबुकमा । हतारहतार खोलेर हेरेँ । हतार गर्नुको एउटै कारण थियो । ऊ त्यही केटा थियो, मेरो हुनेवाला । एक्सेप्ट गरिहालेँ । भटाभट नोटिफिकेसन थपिए । उसको प्रोफाइल तस्बिर हेरेँ । हिजोको केटा होइन जस्तो, क्यामेराले अलि सुन्दर, अलि गोरो, अलि कलिलो फोटो निकालेको थियो । मलाई ऊ राम्रो लागिहाल्यो ।

भोलि बिहेका फोटाहरू हेर्दा साथीभाइले कति मिलेको जोडी भनेर मनैदेखि कमेन्ट गर्लान् कि नगर्लान् ? फेरि अर्को कुतूहल थपियो । उसको फोटोमा आफ्नो फोटो जोडेर इडिट गरिहालेँ । यत्तिको भए हुन्छ भन्यो लाग्यो । ‘बिहेपछि ऊसँगै युरोप पुग्छु अनि राम्रो–नराम्रो, मिलेको–नमिलेको सबै सकिन्छ,’ मन यही भनेर सम्हालियो ।

साँझदेखि दिनहुँ ऊसँग गफिन थालेँ । बिहे पक्का भयो । बिहेको दिन आयो । ऊ दुलाहा बनेर आयो । मैले झ्यालबाट चिहाएँ । दाह्री काटेछ । मैले भनेको मानेछ । कपाल पनि काटेछ । अलि गोरो देखिएछ । कसैले उसलाई दुलाहा त बूढो रैछ भन्छ कि भनेर चनाखो भैरहन्थेँ । कतै खासखुस गफिन्थे केटीहरू, दुलाहालाई बूढो भने कि जस्तो लाग्थ्यो ।

बिहे धुमधामले सकियो । बिहेपछि दैनिकी फेरियो । श्रीमान् युरोप फर्किए । म एक्ली भएँ । एक्लै हिँड्न आनन्द लाग्थ्यो । त्यस्तै भो । अरूका जोडी देख्दा आफ्नो जोडी मिल्दै नमिलेजस्तो लाग्थ्यो । कहिलेकाहीँ सँगै हिँड्न नि लाज लागेजस्तो हुन्थ्यो । कलेज पढ्न छाडेँ । भाषा पढ्न थालेँ । अकाउन्टका लामा र गाह्रौँ हिसाबहरू पढ्न नपर्नुमा अर्को आनन्द थियो । महिना सकिँदा बैंकमा पैसा आउन थाल्यो । पासपोर्ट बनाएँ । केही महिनापछि श्रीमान्ले युरोपको भिसा मिलाए । अब भने आनन्द भो । घरतिर आफूभन्दा पाका मान्छेहरूले भाउजू भनेर बोलाउँदा रिस उठ्थ्यो । रहर धेरै थियो, एउटा पूरा हुँदै थियो, अरू थपिँदै थिए । छोरी युरोप जाँदै गर्दा बाआमा खुसीले झन् चम्किए । मैले युरोप सम्झेँ, सबथोक बिर्सेर । जहाज हुइँकियो ।

श्रीमान्सँग एक वर्षपछिको भेट । साँझपख एयरपोर्टमा कुरेका अरू दुईजनाले पनि ‘भाउजू नमस्ते’ भन्दै स्वागत गरे । म फेरि झस्किएँ । विदेश गएपछि सुन्न पर्दैन भनेको सम्बोधनले एयरपोर्टबाटै छाडेन । झन्डै श्रीमान्समानका उनका साथीहरू मुस्कुराए । उनीहरू हाँस्दा गालामा खुम्चिएको मासु तन्कियो र फेरि खुम्चियो । म लाजले रातोपिरो भएर श्रीमान्तिर फर्किएँ । श्रीमान्को अनुहार पनि उसैगरी हाँसेजस्तो देखियो ।

अब नयाँ दैनिकी सुरु भयो । नयाँ देश, नौलो वातावरण र श्रीमान्को दिनभरको काम । बिहान सबेरै घर छाडेका श्रीमान् राति कतिवेला आउने हो पत्तै छैन । पहिलो हप्ताको बिदामा श्रीमान्सँग घुम्न निस्किएँ । फोटो खिचेँ । साँझ घर फर्केर बुढाबुढीको तस्बिर फेसबुकमा राख्न खोजेँ । अहँ चित्त बुझेन ।

अर्को हप्ता श्रीमान्को कपालमा कालो लगाइदिएँ । मेरो रोजाइका एकजोड कपडा किनिदिएँ । तिनै कपडा लगाएर हामी घुम्न निस्कियौँ । बाटोमा धेरै चिनेजानेका नेपाली भेटिए । अरूका जोडी पार्क र मेट्रो स्टेसनहरूमा अंकमाल गर्थे, तर मेरा श्रीमान्लाई हात समातेर हिँडेको पनि मन पर्दैन थियो । कहिलेकाहीँ छोटा र पातला कपडा लगाएर हिँड्न खोज्थेँ, श्रीमान्सँग झगडा हुन्थ्यो । मिनिस्कट र बिकिनी लगाएर हिँड्न त पाइनँ, फोटो खिचेर फेसबुकमा राख्नु पनि सपनै भयो । उषा र उर्मिलाका श्रीमान्सँग आफ्नो श्रीमान्को तुलना गरेँ, कतै केही मिलेन ।

अर्को रात पनि श्रीमान् रक्सीले मातेर आए । दोस्रो हप्तादेखि दिनहुँ उनी रक्सी पिएर आउन थालेका छन् । ज्याकेटका खल्तीमा चुरोटका खिल्ली भेटिन्छन् । मलाई रक्सी र चुरोट बिलकुल मन पर्दैन, तसर्थ मलाई श्रीमान् मन पर्दैनन् । मसँग झगडा गर्छन् । म कतैपनि उनीसँग सन्तुष्ट हुन सक्दिनँ । न बाटोमा हिँड्दा, न फोटो खिच्दा, न पहिरन लगाउँदा, न रातमा उनकै अँगालोमा आफूलाई सुम्पिँदा।

युरोप आएको तेस्रो सातादेखि म दिनहुँ रोएकी छु । उन्नाइस वर्ष लाग्दै गर्दा बच्चा जन्माउनैपर्ने बाध्यता भयो । बाध्यता यसकारण कि ऊ चौंतीस लाग्दै छ । मलाई मेरो टिनएजको स्वतन्त्रता गुमेको महसुस भयो । म चाैँतीस वर्षको उमेरको जस्तो सोच्न सक्दिनँ, ऊ उन्नाइस वर्षे सोच राख्न सक्दैन । दिनहुँ यही र यस्तै कारण थपिँदै छन् । म अचेल आफैँ काम गरेकी छु । श्रीमान्सँग समय बिताउन मुस्किल पर्छ, तसर्थ ऊ कामबाट आउँछ, म काममा जान्छु । म कामबाट फर्किन्छु, उ काममा जान्छ । यसरी बितेको हाम्रो युरोपको दैनिकी हेरौँ अझै कति दिन बित्छ ।

तपाईको प्रतिक्रिया